एसवाइ प्यानलमा साना लगानीकर्ताको ७५ प्रतिशत होल्डिङले निम्त्याउन सक्छ सङ्कट

Jan 26, 2026 05:52 PM merolagani



सुवास निरौला

दोस्रो बजारमा सूचीकृत एसवाइ प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा पछिल्लो समय देखिएको अस्वाभाविक र तीव्र वृद्धिले बजारमा ठुलो तरङ्ग पैदा गरेको छ।

नेप्सेको पछिल्लो दैनिक चार्टलाई मसिनो गरी केलाउँदा कम्पनीको शेयर मूल्यले झनै तीव्र ‘पाराबोलिक’ लय समातेको देखिन्छ ।चार्टमा देखिएको पछिल्लो कारोबारमा कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा १८८.१० रुपैयाँ (१० प्रतिशत) ले बढेर २०६९.६० रुपैयाँको नयाँ ऐतिहासिक उचाइमा पुगेको छ। यो वृद्धिसँगै कम्पनीको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

 तर, यो वृद्धिको जग कत्तिको बलियो छ भन्ने कुरा कम्पनीका शेयरधनी संरचना र वित्तीय विवरणले फरक चित्र प्रस्तुत गर्दछ। कम्पनीले सुरुमा आईपीओ जारी गर्दा कुल ४ लाख ७ हजार ६१५ जना सर्वसाधारण लगानीकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको थियो। तीमध्ये ६ जनाले मात्र भाग्यवश ११ कित्ता शेयर पाएका थिए। शेयर रजिस्ट्रारले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अहिले बजारमा ३ लाख १७ हजार ९२० जनासँग मात्र शेयर बाँकी रहेको देखिन्छ। यसको सीधा हिसाब गर्दा ८९ हजार ६९५ जना लगानीकर्ताले आफ्नो शेयर दोस्रो बजारमा बिक्री गरिसकेका छन्। प्रतिशतको आधारमा हेर्ने हो भने कुल आईपीओ प्राप्त गर्नेमध्ये २२.०१ प्रतिशत लगानीकर्ता बजारबाट बाहिरिएका छन् भने करिब ७७.९९ प्रतिशत लगानीकर्ताले अझै पनि आफ्नो १० कित्ता शेयर सुरक्षित राखेका छन्।

अहिले दोस्रो बजारमा जसरी मूल्य बढिरहेको छ, त्यसको मुख्य कारण नै यही २२ प्रतिशत शेयरको ‘रोटेसन’ हुनु हो। बाँकी रहेका ७८ प्रतिशत लगानीकर्ता अझै पनि मूल्य बढ्ने आशामा वा अन्य कारणले शेयर होल्ड गरेर बसेका छन्। बजारमा जम्मा ५२ लाख २६ हजार ८५३ कित्ता शेयर रहेकोमा बिक्री भएका ८ लाख ९६ हजार ९५० कित्ता शेयर मात्रै अहिले दोस्रो बजारमा घुमिरहेको छ। अचम्मको कुरा त के छ भने, यति ठुलो मूल्य वृद्धि हुँदा पनि एकै व्यक्तिको हातमा धेरै शेयर थुप्रिएको देखिँदैन। तथ्याङ्कअनुसार एकै व्यक्तिसँग अधिकतम २० हजार कित्ता मात्रै शेयर रहेको छ। अझ १० हजार कित्ताभन्दा बढी शेयर होल्ड गर्नेहरूको सङ्ख्या जम्मा २० जना मात्रै छ। यसले के प्रमाणित गर्छ भने, यो मूल्य वृद्धिको पछाडि कुनै ठुलो संस्थागत लगानीकर्ता वा ‘मार्केट मेकर’ को बलियो हात छैन। बरु, साना लगानीकर्ताहरूले थोरै–थोरै कित्ता सङ्कलन (Accumulation) गरेर होल्डिङ बढाएका छन्।

प्राविधिक रूपमा भन्नुपर्दा, यस्तो बजारलाई ‘थिन मार्केट’ भनिन्छ। जहाँ शेयरको आपूर्ति कम देखाएर मूल्यलाई सजिलै माथि लैजान सकिन्छ। जब बजारमा कुनै ठुलो होल्डर हुँदैन, तब मूल्य घट्न सुरु गर्दा त्यसलाई टेवा दिने वा खरिद गरेर बजार थाम्ने कोही पनि हुँदैन। यदि अहिले होल्ड गरेर बसेका ३ लाख १७ हजारभन्दा बढी साना लगानीकर्ताहरूमध्ये १०–१५ प्रतिशतले मात्रै पनि एकै पटक शेयर बेच्न सुरु गरे भने बजारमा शेयरको बाढी आउने निश्चित छ। यस्तो अवस्थामा जम्मा २० हजार कित्ता मात्रै भएको ठुलो लगानीकर्ताले बजारको त्यो विशाल आपूर्तिलाई थेग्नै सक्दैन ।

कम्पनीको वित्तीय अवस्था र अहिलेको बजार मूल्यबीचको खाडल झनै डरलाग्दो छ। कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रको प्रक्षेपित विवरणअनुसार यसको प्रतिशेयर नेटवर्थ करिब १०० देखि १०७ रुपैयाँको वरिपरि रहेको छ। यसको अर्थ अहिले बजारमा भइरहेको २०६९.६० रुपैयाँको कारोबार कम्पनीको वास्तविक किताबी मूल्यभन्दा झन्डै २० गुणा बढी हो। कुनै पनि उत्पादनमूलक कम्पनीको मूल्य नेटवर्थभन्दा २० गुणा हुनु लगानीको सिद्धान्तबाहिरको कुरा हो। त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात पनि भरपर्दाे लाग्दैन। यदि कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ मात्रै मान्ने हो भने पनि अहिलेको मूल्यमा पी/ई अनुपात २०७ गुणा हुन आउँछ। सामान्यतया उत्पादनमूलक क्षेत्रका राम्रा कम्पनीहरूको पी/ई अनुपात २० देखि ३० को हाराहारीमा हुने गर्दछ। २०७ गुणाको पी/ई अनुपात हुनु भनेको लगानीकर्ताले १ रुपैयाँ कमाउनका लागि २०७ रुपैयाँ खर्च गरिरहेका छन् भन्ने हो।

चार्टमा देखिएको क्यान्डलस्टिक प्याटर्नले मूल्यले आफ्नो ‘एक्जस्टन’ बिन्दु खोजिरहेको सङ्केत गर्छ। आजको चार्टमा देखिएको पूर्ण हरियो क्यान्डल (Marubozu) ले बजारमा माग अझै उच्च देखाए पनि विना कुनै बलियो वित्तीय आधार यसरी सीधा रेखामा माथि जाने मूल्यको अन्त्य सधैँ ‘क्र्यास’ मा हुने गर्दछ। ऐतिहासिक रूपमा नेप्सेमा यस्ता धेरै उदाहरणहरू छन्, जहाँ कम शेयर सङ्ख्या भएका कम्पनीहरूको मूल्य यसरी नै बढाइयो र पछि साना लगानीकर्ताहरू उच्च मूल्यमा फसे। एसवाइ प्यानलको हकमा ७५ प्रतिशत शेयर अझै पनि साना लगानीकर्ताको हातमा हुनु नै सबैभन्दा ठुलो जोखिमको विषय हो। किनकि, साना लगानीकर्ताहरूमा धैर्यता कम हुन्छ र मूल्य थोरै घट्न थाल्नासाथ उनीहरूमा ‘प्यानिक सेल’ गर्ने प्रवृत्ति हुन्छ। ठुला होल्डरहरू नभएको बजारमा जब बिक्रीको चाप बढ्छ, तब खरिद गर्ने मान्छे नै नपाइने अवस्था सिर्जना हुन सक्छ।

अहिलेको बजारमा नयाँ प्रवेश गर्न चाहने लगानीकर्ताका लागि यो मूल्य ‘डेन्जर जोन’ मा रहेको प्रस्ट हुन्छ। चार्टमा देखिएको आरएसआई जस्ता इन्डिकेटरहरू पनि पक्कै पनि ‘ओभरबट’ क्षेत्रमा पुगिसकेका होलान्। कम्पनीको वित्तीय विवरणले दिने प्रतिफल र अहिलेको बजार मूल्यको तुलना गर्दा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न वर्षौं कुर्नुपर्ने देखिन्छ। तसर्थ, तथ्याङ्कले के पुष्टि गर्छ भने अहिलेको मूल्य वृद्धि विशुद्ध रूपमा कम फ्लोट शेयरको चलखेल र साना लगानीकर्ताको मनोविज्ञानमा आधारित छ।  १० हजार कित्ताभन्दा धेरै शेयर हुने लगानीकर्ता जम्मा २० जना मात्रै हुनुले बजारमा कति ठुलो ‘लिक्विडिटी क्राइसिस’ र मूल्य संरक्षणको अभाव छ भन्ने देखाउँछ। त्यसैले, एसवाइ प्यानलमा लगानी गर्नुअघि यी ठोस तथ्याङ्क, र प्राविधिक चार्टको चेतावनीलाई गम्भीरतापूर्वक मनन गर्न आवश्यक देखिन्छ।

कम्पनीको शेयरधनीको लिस्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।