त्यही आकर्षण अहिले बेलायत लगायतका धेरै देशको लागि टाउको दुखाइको विषय बनेको छ । बेलायती उपभोक्ताहरुले चिनियाँ समान आयात गर्दाको पार्सलको लागि मात्रै गत वर्ष अर्थात् सन् २०२४ मा ३ अर्ब पाउण्ड भुक्तानी गरे । त्यसको अघिल्लो वर्ष सन् २०२३ मा त्यो रकम १ अर्ब ३० करोड पाउण्ड मात्र थियो ।
अर्थात् एक वर्षको अवधिमै बेलायतमा चिनियाँ समान मगाउने क्रम दोब्बर भन्दा धेरैले बढ्यो । विविसीले गरेको एक अध्ययन अनुसार अहिले विश्वभरका अन्य देशहरुबाट जाने कुल पार्सलको मूल्यभन्दा चिनियाँ समान आयात गर्दा तिर्ने पार्सलको मूल्य धेरै माथि पुगिसकेको छ।
बेलायती अनलाइन किनमेलकर्ताहरूको लागि अहिले आफ्नै देशका उत्पादनहरु कसरी, कहाँ, कतिमा किन्न पाइन्छ भन्ने याद नहुन सक्छ, तर शाइन र टेमु जस्ता चिनियाँ ईकमर्स कम्पनीबाट कस्तो समान, कसरी, कति मूल्यमा ढुवानी हुन्छ र त्यसका प्रकृयाहरु के के हुन् भन्ने बारेमा कण्ठस्थ छ । उनीहरु चिनियाँ समानको मूल्य अनुसारको गुणस्तरमा निश्चिन्त छन् ।
लण्डनको उपहारहरुसँग सम्वन्धित समानहरु बिक्री गर्ने कम्पनी एन्शियन्ट विजडमकी निर्देशक क्याटरिना चीनबाट बुची शीन र टेमु जस्ता साइटहरूमार्फत आउने सस्ता समानहरुको मूल्यसँग बेलायतका कुनै पनि उत्पादनले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था आएको बताउँछिन् ।
‘चिनियाँ समानको नाम लिंदै ग्राहक आउँछन र त्यो नपाए ए मगाई हाल्छु भन्दै तुरुन्ता तुरुन्तै अनलाइनबाट अर्डर गर्छन् । चिनियाँबाहेक अरु समानको त उनीहरु कुरै गर्दैनन्’ उनी भन्छिन् ।
टेमु र शीन हालैका वर्षहरूमा कपडा, घरेलु सामान, इलेक्ट्रोनिक्स र खेलौनाहरू लगायतका किफायती वस्तुहरू बेच्नका लागि बेलायती उपभोक्ताहरूमाझ लोकप्रिय भएका छन्।
चीनमा स्थापित तर अहिले सिंगापुरमा मुख्यालय रहेको, शीनले गत वर्ष बढ्दो नाफा रेकर्ड गरेको छ।
यसले न्यूयोर्क र लन्डन स्टक एक्सचेन्जमा आफूलाई स्थापित गर्ने प्रयास गरेको छ, तर अहिलेसम्म दुवैमा सूचीकरण हुन सकेको सकेको छैन।
चिनियाँ अनलाइन कम्पनीहरुको दवदवाका कारण घरेलु उद्योग व्यवसाय नै संकटमा पर्दै गएपछि अहिले त्यसलाई नियन्त्रण गर्न के गर्ने भन्ने बारेमा बेलायतको संसदमै आवाज उठन् थालेको छ, अर्थशास्त्री र राजनीतिशास्त्रीहरुले बहस गरिरहेका छन् । तर, उनीहरुले कुनै उपाय पत्ता लगाउन सकेका छैनन् । किनकी न त बेलायत सरकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै ‘टिट फर ट्याट’ भन्दै मनपरी कर लगाउन सक्छ, न आफ्नो देशमा उत्पादित समानहरुको लागत मूल्य घटाएर चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा नै गर्न सक्छ ।
बेलायतका खुद्रा व्यवसायीहरुको संस्था ब्रिटिश रिटेल कन्सोर्टियम (BRC) ले मन्त्रीहरूलाई अहिले नै कारबाही गर्न आह्वान गरेको छ।
खाद्य तथा दिगोपन निर्देशक एन्ड्रयू ओपीले चीनबाट आउने सस्तो पार्सल अर्थात सस्ता समानहरुको कारण बेलायतको होलसेलदेखि खुद्रा व्यापारसम्मको वितरण सृंखला नै ध्वस्त भएकोले सरकारले तत्कालै कदम चाल्न आवश्यक रहेको बताउँछन् । ‘बेलायतको व्यवसायिक क्षेत्रमा यत्तिको ठूलो खतरा सम्भवतः कहिल्यै भोग्नु परेको थिएन । यस्तो अवस्थामा बेलायती अर्थतन्त्र धेरै समय टिक्न सक्दैन, त्यसैले सरकारले तुरुन्तै आवश्यक कदम चाल्नु जरुरीछ’ उनको भनाइ छ ।
अहिलेसम्मको नियमअनुसार ५९६ पाउण्ड (८०० डलर) वा सोभन्दा कम मूल्यका सामानहरूलाई कुनै पनि अतिरिक्त शुल्क नतिरी देशमा प्रवेश गर्न अनुमति दिएको थियो।