देहरादुन प्रहरीले एआईमार्फत दुरुस्त रुपमा अर्थमन्त्री सितारमणको बोली, हाउभाउ सहितका भिडियो बनाएर उनीहरुले साइबर ठगी धन्दा चलाएका गिरोहका दुई अभियुक्तलाई शनिबार मध्यराती पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नोएडाको सेक्टर ४५, सदरपुरको गली नम्बर ८ निवासी नितिन गौर र नोएडाको सेक्टर ४५, सदरपुरको गली नम्बर १५ निवासी निक्कु बाबु रहेका छन ।

उनीहरुले ६५ लाख भारतीय रुपैयाँ बराबरको ठगी गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रहरीले हाल प्रारम्भिक चरणको छानबिन भइरहकोले धेरै रहस्यहरु खुल्न बाँकी रहेको बताउँदै उनीहरुबाट ठगिएकाहरुको संख्या र रकमको मात्रा निकै ठूलो हुन सक्ने आशंका गरेको छ । अभियुक्तहरूको विदेशमा बसेर साइबर ठगी गर्ने गिरोहसँग सम्बन्ध रहेको पाइएको छ।
एसएसपी नवनीत सिंह भुल्लरकाअनुसार देहरादुनका एक बासिन्दाले गुगलमा लगानीसँग सम्बन्धि जानकारी खोजेका थिए । त्यस क्रममा फेसबुकमा जुदा मुराजिक नामक पेजमा अर्थमन्त्री निर्मला सीतारमणको भिडियो चलिरहेको थियो । यसमा उनलाई २१००० रुपैयाँ लगानी गरेर ७ दिनमा ६.५ लाख रुपैयाँ कमाउने प्रलोभनमा पारिएको थियो ।
अर्थमन्त्री सितारमणकै दुरुस्त आवाज र हाउभाउसहित अर्थमन्त्रालयको अनुमति लिएरै 'cryptopromarkets.com' संचालनमा आएको बताइएको थियो । त्यसपछि ती पीडितले ढुक्क भएर त्यसमा दिइएको लिङ्क मार्फत दर्ता गरे, त्यसक्रममा ठगहरूले आफूलाई खाता प्रबन्धकको रूपमा परिचय दिएका थिए । पीडितको बारेमा सम्पूर्ण जानकारी लिएपछि ठगहरुले मे ७ देखि मे २९, २०२५ सम्म विभिन्न बैंक खाताहरू मार्फत कुल ६६.२१ लाख रुपैयाँ ठगी गरेका थिए ।
प्रहरी उपअधीक्षक अंकुश मिश्रा र निरीक्षक देवेन्द्र नाबियालकाअनुसार ठगहरुले फेसबुकमा नक्कली विज्ञापनहरू चलाउने गर्थे, जहाँ नक्कली नामहरू (जस्तै प्रिया, रमेश कुमार, शरद वोहरा, विक्की मल्होत्रा) ले आफूलाई कम्पनीका अधिकारीको रूपमा परिचय गराउँथे र आफूहरु अर्थमन्त्री सितारमणको निकट सहयोगीको रुपमा काम गर्ने गरेको बताउँदै पीडितहरूलाई लोभ्याउने गर्थे । त्यसको लागि उनीहरुले एआईको उपयोग गर्दथे ।
गिरोहको मुख्य काम नक्कली लगानी प्लेटफर्महरू सिर्जना गर्नु, बैंक खातामा पैसा स्थानान्तरण गर्नु र त्यसपछि सम्पर्क तोड्नु हो। आफ्नो पहिचान लुकाउन, उनीहरूले VPN, प्रोक्सी सर्भर र सार्वजनिक Wi-Fi प्रयोग गर्थे।
प्रहरी अधिकारीहरुले अहिले यो घटना छानबिनको क्रममै रहेको बताउँदै त्यसले अनलाइन ठगीको वृहतरुपलाई देखाएको बताउँछन । ‘कति पैसा ठगियो भन्ने भन्दा पनि कसरी ठगियो भन्ने मुख्य कुरा हो । यो घटना जसरी घटाइएको छ, त्यो सामान्य घटना होइन, त्यसैले यसलाई निकै गम्भिरताका साथ लिनुपर्छ,’ अनुसन्धान अधिकारीहरुले भनेका छन् ।