सानीभेरी जलविद्युत आयोजनाका लागि जुट्यो लगानी, सिटिजन्स बैंकको अगुवाइमा चार बैंकले लगानी गर्ने

Sep 01, 2025 05:46 PM merolagani



प्रस्तावित ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा चार बैंकहरुसँग आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्बन्धी संयुक्त लगानी गर्ने सम्झौता भएको हो । एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रालिले प्रबर्द्धन गर्ने उक्त आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता काठमाडौंमा एक विशेष सहमारोहमा सम्पन्न भएको हो ।

उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक,सिद्धार्थ बैंक र सानिमाकाे बैंक सहभागितामा आयोजना प्रबर्द्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टसँग संयुक्त लगानी सम्झौता भएको हो। सम्झौताअनुरुप यस आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको ७५ प्रतिशत र प्रबर्द्धकहरुको २५ प्रतिशत लगानी रहनेछ।

आयोजना निर्माणका लागि सिटिजन्स बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, सहभागी बैंकहरु क्रमशः नबिल बैंकबाट १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सानिमा बैंकबाट १ अर्ब रुपैयाँ तथा प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टबाट २ अर्ब ४० करोड रुपैयाँ लागत अनुमानमा निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौता भएको छ ।

ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा एक्सपर्ट हाइड्रो इन्भेन्टमेन्टका अध्यक्ष अंगिस घिमिरेको उपस्थितिमा कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपाल र अगुवा बैंकका तर्फबाट सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद पोखरेल तथा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको रोहबरमा सिटिजन्स बैंकका कर्पोरेट बैंकिङ अफिसर रोशन मल्ल तथा सहभागी बैंकका चिफ फाइनान्स अफिरले हस्ताक्षर गरेका छन्।

सानीभेरी जलविद्युत आयोजना निर्माण सुरु गरेको मितिले ३.५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको बाँफीकोट सबस्टेसनमा करिब २३ किलोमिटर लामो १३२ केभी डबल सर्किटको प्रशारण लाइन निर्माण गरिनेछ ।

रुकुमपूर्व जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाको वडा नं. १४ र २ भएर बग्ने सानीभेरी नदीको पानी उपयोग गर्दै निर्माण गरिने छ ।उक्त आयोजनामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडको मुख्य लगानी रहनेछ भने बाँकी स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा सर्वसाधरण नेपालीको लगानी रहनेछ ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।