विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले ल्यायो एसआईपीएस

Sep 02, 2025 12:11 PM Merolagani



नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) जारी गरेको छ।

केन्द्रीय बैंकले हालैका वर्षहरूमा तीव्र गतिमा वृद्धि हुँदै गएको डिजिटल भुक्तानी प्रणालीलाई ध्यानमा राख्दै, यस फ्रेमवर्कमार्फत प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड निर्धारण गर्ने भएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समेत यस्तो फ्रेमवर्क ल्याइने उल्लेख गरिएको थियो। सोही नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकले यो दस्तावेज सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार, प्रणालीगत रूपमा महत्त्वपूर्ण प्रणालीहरूले ठूलो मूल्यका तथा संवेदनशील भुक्तानीहरू समेट्ने भएकाले यस्ता प्रणालीहरू वित्तीय प्रणालीका आधारभूत र संवेदनशील अवयव हुन्।

नयाँ फ्रेमवर्कले यस्ता भुक्तानी प्रणालीहरूको पहिचान, सञ्चालन र व्यवस्थापनलाई अझ सुदृढ, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। साथै, यस्ता प्रणालीहरूलाई उपयुक्त नियामकीय निगरानी र जोखिम व्यवस्थापन अभ्यासहरूमा ल्याउने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकको भनाइमा, यसले वित्तीय प्रणालीमा प्रणालीगत अवरोध आउन नदिई समग्र प्रणालीको स्थायित्व कायम राख्न मद्दत गर्नेछ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।