जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Sep 04, 2025 06:00 AM Merolagani



जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न र संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी भुक्तानी गर्न प्रयोग गरिनेछ।