तर, तपाईलाई थाहा छ ? नेपालको इतिहासमा २००८ यता अर्थ मन्त्री बनेका ४ जना त्यस्ता व्यक्ति छन्, जो त्यस अगाडि सरकारको सचिव थिए, त्यसमध्ये ३ जना त अर्थमन्त्रालयकै सचिव थिए । उनीहरु हुन् डा. भेषबहादुर थापा, डा. देवेन्द्रराज पाण्डे, शंकर कोइराला र रामेश्वर खनाल ।

यी मध्ये कोइराला जलस्रोत मन्त्रालयको सचिवबाट अवकाश पाएपछि अर्थमन्त्री बनेका थिए भने थापा, पाण्डे र खनाल अर्थ मन्त्रालयकै सचिवबाट अवकाश लिएपछि अर्थमन्त्री बनेका हुन् । संयोग नै मान्नुपर्छ ती ४ जना अर्थमन्त्रीहरु मध्ये २०४७ यता अर्थमन्त्री बनेका ३ जना पाण्डे, कोइराला र खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेका छन् । तीनै जना चरम राजनीतिक अन्योलका बीच देशको अर्थमन्त्रीको कुर्सीमा पुगेका हुन् ।
यसकाे अर्थ जब जब देशमा राजनीतिक अन्योल बढ्छ, देशको अर्थतन्त्र डगमगाउँछ तब तब त्यस्तो अन्योललाई हटाउने जिम्मेवारी पूर्व प्रशासकहरुले पाउँछन् । पाण्डे र कोइरालाले आ-आफ्नो कार्यकालका अन्तरिम सरकारले सफलतापूर्वक निर्वाचन गराएर देशलाई सही दिशामा लैजान भूमिका खेलेका थिए र उनीहरु विवादमा पनि खासै परेका थिएनन् । अहिले अर्थमन्त्री बनेका खनालको कार्यकाल कसरी बित्ला अहिले नै दावी गर्न हतार हुन्छ । केही महिनामा त्यो स्पष्ट हुनेछ । त्यसमा पनि अर्काे संयोग तत्कालिन सरकारसँगको विवादको कारण पाण्डे र खनाल त अर्थ सचिव पदबाट राजीनामा दिएर प्रत्यक्ष, अपत्यक्ष रुपमा राजनीतिमा लागेर अर्थमन्त्रीको कुर्सीमा पुगे ।
यहाँ अर्थसचिवबाट अर्थमन्त्री भएका ती चार जनाको कार्यशैली र ‘ट्रयाक रेकर्ड’को बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
डा. भेषबहादुर थापा
नेपालमा विसं २००७ मा राणा शासन ढलेपछि देश औपचारिकरुपमा बजेट प्रणालीमा प्रवेश गर्यो । २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ पछि गठन भएको राजा-राणा-कांग्रेस गठवन्धनको अन्तरिम सरकारमा कांग्रेस नेता सुवर्ण समशेर अर्थमन्त्री भएका थिए । उनले ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।
त्यसको २ दशकपछि आर्थिक वर्ष २०२७-०२८ देखि नेपालको बजेटले करोडबाट १ अर्ब नाघेको हो ।
नेपालको इतिहासमा डा. भेषबहादुर थापा सबैभन्दा धेरै राजनीतिक लाभका पदहरुमा बस्ने व्यक्तिको रुपमा परिचित छन् । युवा अवस्थामा नै अर्थसचिव, गभर्नर, अर्थमन्त्री, राजदूतलगायतका कैयौं महत्वपूर्ण पदहरुमा बसेका थिए । राजा महेन्द्रका प्रिय पात्र रहेका थापा त्यसपछिका राजा विरेन्द्रको पनि प्रिय पात्रको रुपमै रहेका थिए ।
थापा नेपालको इतिहासका त्यस्ता एक्ला अर्थमन्त्री हुन्, जसले लगातार ५ वटा भाषण पढे । उनी बाहेक अहिलेसम्म कुनै पनि अर्थमन्त्रीले पटक पटक गरेर समेत ५ पटक बजेट प्रस्तुत गरेका छैनन् । विसं २०३१ मा अर्थ राज्यमन्त्री बनेका थापा करीब १ वर्षपछि अर्थ र सामान्य प्रशासन मन्त्री बने । उनले पहिलोपटक आव २०३१-३२ मा रू. ९ अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेका थिए भने उनले घोषणा गरेको अन्तिम पटकको आर्थिक वर्ष २०३५-०३६ को बजेट १९ अर्ब रूपैयाँको थियो ।
अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे
अर्थमन्त्री भेषबहादुर थापाकै कार्यकालमा अर्थमन्त्रालयको सचिव बनेका थिए डा.देवेन्द्र राज पाण्डे । २०३६ सालमा जनमत संग्रह घोषणापछि पंचायतलाई जिताउनको लागि बजेटमा दुरुपयोग गर्न दबाब बढेपछि पाण्डेले सचिव पदबाट राजीनामा दिए र पंचायत विरोधी अभियानमा लागे ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उनले नागरिक समाजको तर्फबाट नेतृत्वदायी भूमिका खेले । फलस्वरुप उनी कांग्रेस सभापति कृष्णप्रसाद भट्राई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बने । उनले २०४७ असारमा ३६ अर्वको बजेट पेश गरेका थिए । उनले आफ्नो पालामा ग्रामीण स्वावलम्बन विकास कोष, नागरिक लगानी कोषलगायतको अवधारणा ल्याएका थिए । नागरिक लगानी कोष अहिले पनि सञ्चालनमा छ । उमेरले साढे ८ दशक पुरा गरेका पाण्डे अहिले पनि अध्ययन-अनुसन्धानमा व्यस्त छन् उनका लुकिङ एट डेभलपमेण्ट एण्ड डोनर्सलगायतका आर्थिक नीतिसँग सम्वन्धित केही पुस्तकहरु प्रकाशित भएको छ । उनको पछिल्लो पुस्तक २ वर्ष अगाडि प्रकाशित एक ज्यान, दुई जुनी हो ।
अर्थमन्त्री शंकर कोइराला
नेपाली साहित्यमा एसपी कोइरालाको नामले चिनिने शंकर कोइराला जलस्रोत सचिवबाट अवकाश पाएपछि अर्थमन्त्री बने । दोस्रो संविधानसभा चुनाव गराउन गठन भएको प्रधानन्यायाधीश खिलराज रेग्मी अध्यक्षताको मन्त्रिपरिषद्का अर्थमन्त्री बनेका कोइरालाले ०७०-७१ को बजेट प्रस्तुत गरेका थिए । संसद् नभएकाले राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलबाट ०७० असार ३० मा ५ खर्ब २० अर्बको बजेट पेश गरेका थिए ।
उनी खासै ठूलो विवादमा नपरे पनि कतिपय विवादास्पद संघसंस्थाहरुलाई राज्यकोषबाट सहयोग गरेको विषयमा भने विवादमा परेका थिए । उनी आवश्यक नै नपरेका कार्यक्रमहरुमा पनि राज्य कोषबाट मोटो रकम निकालेर अत्यधिक मात्रामा विदेश भ्रमणमा गएको विषयमा पनि विवादमा परेका थिए ।
अहिले बनेका अर्थमन्त्री रामेश्वर खनालले आफैले बजेट ल्याउन पाउलान कि नपाउलान् यकिन छैन । किनकी अहिलेको सरकारको घोषित कार्यकाल फागुन २१ को निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । त्योअनुसार राजनीतिक रुपमा कुनै गडबढी भएन र समयमै चुनाव भयो भने उनले नयाँ बजेट घोषणा गर्न पाउने छैनन् । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा घोषणा गरेको बजेटकै आधारमा अर्थतन्त्र चलाउनु पर्ने छ । त्यसो त सरकारको सामु त्यो बजेटलाई खारेज गरेर पुरक बजेट ल्याउने विकल्प छ । सरकारले त्यो विकल्प अपनाएर नयाँ पुरक बजेट ल्याउला वा अहिलेकै बजेटलाई आफू अनुकूल व्यवस्थापन गर्नु पर्नेछ ।