चाडपर्वको समयमा सूचकमा खासै रौनक नभएता पनि आम लगानीकर्तामा सकारात्मक उत्साहा देखिएको छ । लगानीकर्ताहरु बजार बढ्नेमा ढुक्क हुन थालेका छन् । पूँजी बजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको ४ सदस्य कार्यदलले प्रतिवेदन बुझाएको छ ।
लगानीकर्ताले वर्षैदेखि माग गर्दै आएको शेयर धितो कर्जाको सीमा खारेज र बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा कारोबार गर्न सक्नेलगायतका सुधारमा सुझावहरु बुझाएको छ । लगानीकर्ताको माग सुझावको प्राथमिकतामा परेको छ ।
उक्त प्रतिवेदनको सुझाव कार्यान्वयन हुने, कम्पनीहरुकाे लाभांश र बैंकको ब्याजदरले अन्य नीतिगत सुधारले अबको शेयर बजारले राम्रो फड्को मार्ने नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको विश्वास छ । तीनै पाण्डेसँग सुधा देवकोटाले गरेको कुराकानीः
पछिल्ला कारोबार दिनमा बजार सुस्ताउन थालेको छ । के बजारमा चाडपर्वको प्रभाव देखिएको हो ?
अघिल्ला दुई कारोबार दिन बजार राम्रो अंकले बढेको हो । त्यो भन्दा अधिल्लो दिन ६ प्रतिशतले घटेको बजार त्यसपछिका दुई कारोबार दबाबमा देखिएको छ । यसमा केहि लगानीकर्ताहरुले नाफा बुक गरेको पनि हुन सक्छ । बिहीबारको बजार सामान्य अंकको मात्रै करेक्सन छ र बजार सम्हालिएकाे छ । अहिलेको समयमा धेरै लगानीकर्ताहरु फेस्टिभ मुडमा नै छन् । दशै नजिकको बजारमा तीन अर्ब माथिको रकम सहित कारोबार हुनु राम्रो हो ।
विगतमा बजार निरन्तर घटेको हो । पछिल्ला दुई कारोबार दिन राम्रो अंक सहित बढेता पनि नाफा हुने अवस्था देखिदैन । यस्तो बेला कसरी नाफा सुरक्षित गर्ने सम्भावना देखिन्छ ?
यहा विभिन्न प्रकृतीका लगानीकर्ताहरु रहेका छन् । केही लगानीकर्ताकाे सामान्य नाफा हुना साथै बुक गर्ने प्रवृति रहेको हुन्छ । दोस्रो प्रकृतिका लगानीकर्ताले ३० देखि ४० प्रतिशतको नाफा पर्खने गरेका हुन्छन् । अर्को दीर्घकालको सोच बनाएर लगानी गरेका हुन्छन । त्यस्ता लगानीकर्ताले कम्तिमा पनि एकको दुई वा सो भन्दा बढी प्रतिशत नाफा नभएसम्म कुर्ने गरेका हुन्छन । लगानीकर्ताहरुको अ-आफनै रणनीति अनुसार नै कारोबार हुने भयो । अहिले बजारमा सकृय लगानी नगरेको अवस्थामा हप्ताको दबाब, फेस्टिभ मुड वा नाफा सुरक्षित हो ।
अहिलेको अवस्थालाई मध्यनजर गरेर हेर्दा सरकारले शेयर बजारका लागि के कस्ता कामहरु गर्नुपर्ने देखिन्छ ?
जेनजीको आन्दोलन पछि राजनीतिमा धेरै परिवर्तन भएको छ । अहिले नागरिक सरकार बनेको छ । अहिले पुराना राजनीतिक दलहरुको लिगेसी छैन । राजनीति दल प्रति यो सरकारलाई कुनै दायित्व छैन । राजनीतिक झोला बोकेका छैनन । अहिले सरकारका पदाधिकारीले इमान्दार र निष्पक्ष भएर काम गर्ने हो । उनीहरुले सरकारबाट धेरै लाभ लिदैनन ।
यो सरकार गठन भएपछिको सुरुको कारोबार दिन बजार ६ प्रतिशतले घटेर बन्द भएको थियो । त्यसो हुनुपर्ने थिएन । त्यसपछिका दुई कारोबार दिन बजार सम्हालिदै राम्रो अंक सहित बढेको थियो । लगानीकर्ताले सुझबुझमा कारोबार नगर्दा ६ प्रतिशतले घट्दा बिक्री गर्नेले धेरै गुमाउनु पर्यो । दोस्रो कारोबार दिनमा नै सूचक सम्हालिएर कारोबार भयो । डराएर बिक्री गर्नेले धेरै नोक्सानी व्यर्होनुपर्यो । यस्तो बेला लगानीकर्ताले परिपक्क निर्णय लिनुपर्छ ।

अहिले नागरिक सरकार बनेको छ । त्यसमा अर्थतन्त्रलाई राम्रोसँग बुझेको अर्थमन्त्री हुनुहुन्छ । शेयर बजारले अर्थतन्त्रलाई टेवा दिएको दिन्छ । शेयर बजार अर्थतन्त्रको ऐना हो भन्ने कुरा बुझेको अर्थमन्त्री हुनुहुन्छ । त्यसमा हामी लगानीकर्ताका संघ संगठन गएर शेयर बजारमा सुधारको कदम चाल्नु पर्नेमा ध्यानाकर्षण गराएका थियौं । त्यसपछि ४ सदस्य कार्यदल गठन भएको हो । शेयर बजारसँग सरोकार राख्ने सबै व्यक्ति संघ सस्थाहरुसँग सुझावहरु लिएको छ । उक्त गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । उक्त कार्यदलको प्रतिवेदनमा लगानीकर्ताहरुको सुझावले नै प्राथमिकता पाएको छ । प्रतिवेदनको कार्यान्वयन कार्ययोजना तत्काल अर्थात ३ महिना समय सीमा भित्र गर्नुपर्ने र मध्यकाल १ वर्षको समय सीमा भित्र गर्नुपर्ने गरी वर्गिकरण गरिएको छ ।
प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाकाे सीमा हटाउने, बैंक तथा वित्तीय संस्थाहरूले शेयर तथा ऋणपत्रमा एक वर्षभन्दा बढी अवधिको लागि लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने भएको हो ।
त्यसैगरी, मार्जिन प्रकृतिको कर्जाको बुझाउनु पर्ने ब्याजमा सहज, धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने, आइजिन सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्नुपर्ने कुरालाई प्रतिवेदनले जोड दिएको छ ।
साथै, सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने र गैर–व्यावसायीक शेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा स्पष्ट व्यवस्था गर्ने र बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित कम्पनीले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था लगानीकर्ताको हितमा छ ।
अर्थमन्त्रीले शेयर बजार सुधार र विकासको लागि देखाएको तदारुकता एकदमै सह्रानिय छ । उक्त सुझावहरु कार्यान्वयन भयो भने शेयर बजारले नयाँ फड्को मार्नेछ ।
विगतमा पनि सरकारले शेयर बजार सुधारको लागि कार्यदल गठन गर्ने गरेको थियो । तर कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयन नहुँदा त्यसको प्रभावकारिता खासै भएन । यो कार्यदलले बुझाएको सुझाव कार्यान्वयन होला भन्ने विश्वास गर्न सकिन्छ ?
युवाहरुको आन्दोलनपछि मुलुकमा राजनीतिक परिवर्तन भयो । यो परिवर्तनले दुईवटा कुरा सिकाएको छ । ‘सच्चिने कि सक्किने’ भन्ने सिकाएको छ । पहिलेको राजनीतिक दललाई पनि समाजिक सञ्जाल तथा अन्य माध्यमबाट पनि सच्चिनको लागि नागरिकबाट दबाब दिएको हो, तर सच्चिन सकेनन । नागरिकले गणतन्त्र मन नपराएका होइन, गणतन्त्र भित्रको विकृती मन नपरेकाे हो । नागरिकले चाहे भने जे कुराको पनि सम्भव छ । नागरिक जागे भने जेपनि हुनसक्छ भन्ने सिकाएको छ ।
कार्यदलको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ । अब सम्बन्धित सरोकारवाला निकायलाई कार्यान्वयनको लागि निर्देशन अर्थमन्त्रालयबाट जान्छ । त्यो निर्देशनलाई अवरोध, आलटाल भयो भने नियामकलाई गाह्रो हुन्छ । नियामक निकायहरु सच्चिन जरुरी छ । कार्यदलले बुझाएको सुझाव कार्यान्वयन हुनै पर्छ ।
शेयर बजारको सुधारको काम हुँदैछ । अर्थतन्त्रलाई राम्रोसँग बुझेका अर्थमन्त्री र गभर्नर छन् । अब दशैंपछिको शेयर बजारको परिकल्पना गर्दा कस्तो देख्न सकिन्छ ?
अहिलेको बजार फेस्टिक मुडमा छ । त्यसैले कारोबार रकम घटेको हो । विगतमा पनि यस्तै हुने गरेको थियो । दशैं अगाडि आईतबार एक कारोबार छ । सो दिन बजार सकारात्मक नै हुन्छ भन्ने विश्वास छ । अहिलेको माहोल सकारात्मक रहेको छ । साथै लगानीकर्ताहरु उत्साहित पनि छन् । यद्यपि दशैं अघिको कारोबारमा ठूलो कारोबार भएन भने पछिको बजार एकदमै सकारात्मक छ ।
अहिलेको समय भनेको कम्पनीहरुले प्रतिफल वितरण गर्ने समय हो । यसले लगानीकर्तामा उत्साहा थप्ने छ । दोस्रो कार्यदलले सरकारलाई सुझाएका कुराहरु कार्यान्वयन हुन निर्देशन दिन्छ । सरकारले नियामक निकायलाई दिएको निर्देशनको कार्यान्वयन किन भएन भन्ने कुराको खबरदारी लगानीकर्ताबाट हुन्छ । निर्देशन र खबरदारी सँगै हुँदा सुधारको काम हुन्छ । यसले राम्रो माहोल बनाउ छ ।
तेस्रो, हामीसँग प्रशस्त तरलता छ । लगानीकर्ताले चाहेको बेला सस्तोमा कर्जा पाउन सक्छन । अत्यान्त महत्वपूर्ण, कार्यदलले प्राथमिकतामा राखेको छ । शेयर धितो कर्जाको सीमा हटाउने र बैंकले शेयर बजारमा कारोबार गर्न सक्ने भएका छन् । यसले बजारमा थप लगानी बढ्ने भएको छ । यसलाई लगानीकर्ताले सदुपयोग गर्न जान्नु पर्छ । कम्पनीको शेयर मूल्य पनि सस्तो दरमा नै छ । अहिलेको बजारमा लगानीकर्ताले गुमाउनु पर्दैन । लगानी मैत्री वातावरण बनेको छ । दशैं पछिको शेयर बजार धेरै राम्रो छ ।