आइतबार सेन्चुरी भन्दा बढी अंकले बजार बढे पनि २ सय ५० रुपैयाँ भन्दा मुनि कारोबार भइरहेको २३ वटा कम्पनीहरु रहेका छन् ।
२ सय ५० रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको २३ वटा कम्पनीमा १० वटा वाणिज्य बैंक समूहका र १३ वटा हाइड्रोपावर समूहका कम्पनीहरु छन् । नेप्से गणनामा सबैभन्दा धेरै भार रहेको वाणिज्य बैंक र हाइड्रोपावर समूहकै शेयर सबैभन्दा सस्तो रहेको छ ।
आइतबार बजार मूल्य अनुसार सबैभन्दा सस्तो शेयर शिवश्री हाइड्रोपावरको रहेको छ । कम्पनीको शेयर आइतबार १७४ रुपैयाँ ३० पैसामा कारोबार भयो । यो कम्पनीको ५२ हप्ताको न्यूनतम मूल्य १५६ रुपैयाा र अधिकतम मूल्य ३ सय १३ रुपैयाँ छ । शिवश्रीपछि हिमाल दोलखा हाइड्रोपावरको शेयर सबैभन्दा सस्तोमा दोस्रो स्थानमा छ । त्यस्तै बलेफी हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, कुमारी बैंक, आँखुखोला जलविद्युत, नसेनल हाइड्रोपावर, हिमालयन बैंकको शेयर पनि २ सय रुपैयाँ भन्दा मुनि नै कारोबार भइरहेको छ । हालै हिमालयन बैंकले हालै मात्रै १ सय ५६ रुपैयाँ एफपीओ निष्काशन गरेर संस्थापक र साधारण शेयर अनुपातलाई ७०ः ३० मा मिलान गरेको थियो ।
सिटिजन्स बैंक, प्रभु बैंक र लिबर्टी इनर्जीको शेयर २ सय देखि २१० रुपैयाँको बीचमा पाइरहेको छ भने घलेम्दी हाइड्रो, हिमालयन ऊजा विकास कम्पनी, रिभिडी पावर, माचापुच्छे बैंक २ सय १० देखि ३० को बीचमा कारोबार भइरहेको छ ।
दोर्दी खोला जलविद्युत, लक्ष्मी सनराइज्ज बैंक, छ्याङदी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, खालिन हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक र नेपाल बैंकको शेयर भने २ सय ३० देखि ५० को बीचमा कारोबार भइरहेको छ।
२ सय ५० भन्दा पनि तल्लो मूल्यमा कारोबार भए पनि कतिपय कम्पनीले भने लाभांश समेत दिन सक्ने हैसियत राख्ने खालका कम्पनीहरु रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमा चुक्ता पुँजी धेरै भएका कम्पनीहरुका शेयर आपूर्ति धेरै हुने हुँदा प्रायः न्यून मूल्यमा कारोबार हुने गरेको हो । अहिले छोटो समयमा सत्ता परिवर्तन गराउन सफल जेन्जी आन्दोलन कारण लगानीकर्तामा समेत आत्मविश्वासको कमी भइरहेको बेला सस्ता कम्पनीहरुमा आँखा लगाउँदा लगानीकर्ताले छोटो समयमै लाभ पाउन सकिने आशा गर्न सकिन्छ । अर्थ मन्त्री रामेश्वर खनालले पुँजी बजारमा लगानीकर्ताको मनोबल उकास्ने मनसायले गत शुक्रबार नै नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ । सेबोनका कामु कार्यकारी निर्देशन रुपेश केसीको संयोजकत्वमा बनेको उक्त दलले पाँच दिनको समय सीमा दिएर पुँजी बजारको सुधार योजना पेश गर्न कार्यादेश दिइएको छ । अर्थमन्त्री सोही अनुसार बजारमा मागको सिर्जना गरी बजारलाई स्वच्छ र दिगो बनाउने आशा गर्न सकिन्छ ।