सुनको मूल्य बढेर सुन आयात घटेको हो कि ‘ग्रे’ मार्केट मौलाएको हो ? आयात ७२% घट्यो

Sep 27, 2025 06:26 AM merolagani



सुवास निरौला

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्क अनुसार उक्त वर्ष नेपालमा कुल पाँच हजार ५४ किलो सुन् आयात भएको थियो। सोही विभागको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कुल १३ सय ८५ किलो मात्रै सुन आयात भयो।

आर्थिक वर्ष २०७८/७९ आयात भएको सुनलाई गत आर्थिक वर्षको आयातसँग तुलना गर्ने हो भने सुन आयात ७२.५९ प्रतिशतले घटेको छ। जुन प्रतिशतलाई सामान्य मान्न सकिँदैन। आर्थिक वर्ष २०७८/७९ यता हरेक वर्ष सुनको आयात घट्दै आइरहेको छ।

आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ५४ किलो सुन आयात भयो भने त्यस पछिको आर्थिक वर्ष २०७९/८० मा सुन आयत घटेर २९ सय १७ किलोमा खुम्चियो। त्यस पछिको २०८०/८१ मा थप आयात खुम्चिएर २६ सय ५२ किलोमा झर्‍यो। अझै आर्थिक वर्ष २०८१/८२ मा आयत थप ५० प्रतिशतको हाराहारीमा खुम्चियो। उक्त वर्ष वार्षिक आयात १३ सय ८५ किलोमा नै सीमित हुन पुग्यो। हरेक वर्ष सुनको आयात घट्दै आइरहेको छ।

गत वर्ष ह्वात्तै आयात घट्नुमा भारत र नेपालमा सुन आयातमा लाग्ने भन्सार शुल्क फरक पर्नुले सुन आयात प्रभावित भएको थियो। भारत सरकारले १५ प्रतिशत रहेको भन्सार शुल्क घटाएर ६ प्रतिशतमा झार्‍यो। तर नेपालमा त्यही सुनको भन्सार दर २० प्रतिशत थियो। जसले गर्दा गत आर्थिक वर्ष तीन महिना वाणिज्य बैंकले सुन नै आयात गरेनन्। गत आर्थिक वर्षको वैशाख, जेठ र असार महिना बैंकहरुले सुन आयात नगरेका हुन्।

नेपालमा वाणिज्य बैंकले सुन आयात नगरे पनि बजारमा सुनको अभाव भने भएन। भारत लगायत अन्य मुलुकबाट तस्करी भई आएको सुनले नेपालको बजार धानेको थियो। जसले गर्दा पनि नेपालमा सुन अभाव नदेखिएको हो।

चालु वर्ष लागे यता पनि सुनको आयातमा वृद्धि हुन सकेको छैन। भन्सार विभागका अनुसार भदौ मसान्तसम्म जम्मा दुई सय एक किलो सुन आयात भएको छ। गत साउनमा जम्मा एक सय किलो सुन आयात भएको थियो।

 नेपालमा कुनै समय दैनिक २० किलोको कोटा घटाएर १० किलोमा झार्दा सुनचाँदी व्यवसायीले चर्को विरोध गरेका थिए। पछि सरकारले कोटा बढाए २० किलो नै पुर्‍यायो। तर खपप भने निक्कै न्यून छ। कोटा अनुसार सुन बिक्री नभएका कारण वाणिज्य बैंकले सुन आयात नै घटाएका हुन्।

आर्थिक वर्ष २०७८/७९ मा प्रतितोला सुनको मूल्य एक लाख रुपैयाँको हाराहरीमा थियो। तर अहिले त्यही सुनको प्रतितोला मूल्य दुई लाख रुपैयाँ भन्दा माथि छ। नेपाल सुनचाँदी  व्यवसायी महासंघले शुक्रवारको लागि तय गरेको प्रति तोला सुनको मूल्य दुई लाख २२ हजार पाँच सय रुपैयाँ तोकिएको छ। सुनको मूल्य बढेका कारण पनि सुन खपत घट्दै गएको अनुमान व्यवसायीको छ। “अहिले हरेक दिन जसो सुनको मूल्यले रेकर्ड कायम गरिरहेको छ। जति जति सुनको मूल्य बढ्दै गइरहेको छ। त्यति त्यति नै खपत घट्दै गइरहेको छ। पहिलेको जस्तो नयाँ सुन बिक्री अहिले छैन। बरु पुराना सुन नै गालेर नयाँ बाउने मानिस धेरै आउने गरेका छन्,” नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने।

आयात किन घटेको भन्ने प्रश्नमा शाक्य भन्छन् ”सबैभन्दा पहिलो कारण भनेको सुनको मूल्य बढ्नु नै हो। बढेको मूल्यमा सुन किन्ने मानिस नै कम छन्। जसले गर्दा खपत घट्यो, खपत घटेको कारण आयात पनि घट्यो। अर्को कारण भनेको केही समय अघिसम्म भन्सार दरका कारण नेपाल र भारतमा सुनको मूल्य फरक थियो। नेपालमा भन्दा सस्तो सुन भारतमा थियो। जसले गर्दा चोरी पैठारीको सुन नेपाल धेरै आयो। जसले गर्दा पनि औपचारिक आयात घटेको थियो। तर अहिले भारत र नेपालमा सुनको मूल्यमा खासै फरक छैन। जसले गर्दा उताबाट चोरी पैठारी आउने क्रम निक्कै घटेको छ। अहिले मूल्य बढेकै कारण खपत घटेको हो भन्न सकिन्छ।”




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।