दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM MeroLagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारको गतिविधिहरु पनि करिब १ हप्ता पछाडि धकेलिएको छ। यसवर्ष अधिकांश कम्पनीले बोनस शेयरमै जोड दिएका छन्। एकाध कम्पनीले नगद लाभांश घोषणा गरे पनि जेनजी आन्दोलन कारण साधारण सभा केही दिन स्थगन गरेपछि सो लाभांश समेत दशैं पछाडि मात्रै प्राप्त गर्न सक्ने भएको छ।

अहिलेसम्म चार वटा बैंक, चार वटा हाइड्रोपावर, दुई वटा विकास बैंक, दुई वटा इन्भेष्टमेन्ट कम्पनी, दुई वटा उत्पादनमूलक क्षेत्रको कम्पनी र दुई वटा लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्।

सधैंजसो धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ सय ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले अहिलेसम्म बुकक्लोजको सूचना भने निकालेको छैन । अहिलेसम्म लाभांश घोषणा कम्पनीहरुमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ गते साधारण सभा सम्पन्न गरिसकेको छ भने माछापुच्छ्रे बैंकले भदौ २७ गते बुक क्लोज गरिसकेको छ। माछापुच्छ्रे बैंकले असोज १० गते साधारण सभा गर्दैछ। माछापुच्छ्रे बैंकले चाहने हो भने दशैंको फुलपाती अगाडि लगानीकर्ताका खातामा नगद लाभांश बापतकाे रकम ट्रान्सफर गरिदिन सक्छ। कम्पनीले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।

कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले असोज ८ गते बुक क्लोज गरिसकेको छ । कामना सेवाले असोज २४ गते तथा युनिभर्सल पावरले असोज २३ गते साधारण सभा मिति तय गरेको छ। त्यस्तै नेपाल ल्युव आयल लिमिटेडले असोज ३१ गते साधारण सभा र असोज १२ गते बुक क्लोज मिति तय गरेको छ। यता सानिमा बैंकले कार्तिक २ गते साधारण सभा गर्ने मिति तोकेको छ भने असोज २७ गते बुक क्लोज मिति भन्दा अगाडि शेयर किन्ने लगानीकर्ताले मात्रै बैंकले घोषणा गरेको लाभांश पाउँछ । त्यस्तै भगवती हाइड्रोपावरले लाभांश घोषणासहित साधारण सभाको मिति पनि सार्वजनिक गरेको छ । कम्पनीले लगानीकर्तालाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश घोषणा गर्दै कार्तिक २ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि असोज २१ बुक क्लोज मिति तोकेको हो । अधिकांश कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति सार्वजनिक गरेका छ्रैनन।

धेरै लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये युनिलिभर पछि नेपाल ल्यूव आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीको १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सेबोनमा १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्ने आवेदन पेन्डिङ छ।

बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ। गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७ दशमलब ३७ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ भने सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलब २६ प्रतिशत गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यता विकास बैकमध्ये मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनशसहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। यता फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तमा अहिलेसम्म गुराँस र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । गुराँसले १४.२५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत् शून्य दशमलब ७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने आरएसडीसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

हाइड्रोपावर समुहका सबै कम्पनीले बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनको लागि थोरै मात्रामा नगद लाभांश दिएको छ। सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र शून्य दशमलब ४२ प्रतिशत नगद कुल ८.४२१ प्रतिशत तथा युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र शून्य दशमलब ४७ प्रतिशत नगद गी ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। भगवती हाइड्रोपावरले भने १४ प्रतिशत बोनस र ६ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ

यता लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलब ६३ प्रतिशत नगद सहित १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेको छ। यता नेपालको एक मात्रै पूर्वाधार विकास बैंकले यसपटक लगानीकर्ताले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले गत वर्ष लगानीकर्ताको हात खाली गरेको थियो।




सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

Sep 26, 2025 12:09 PM

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।