हालसम्म १९ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म १९ कम्पनीले आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेका छन् । त्यसमध्ये १० वटा कम्पनीले बुकक्लोजको मिति तोकेका छन भने ६ वटा कम्पनीको बुक क्लोज समय सकिसकेको छ । बुक क्लोज मिति तोकेका कम्पनीमध्ये अझै एभरेष्ट बैंक, सानिमा बैंक, भगवटी हाइड्रोपावर र मुक्तिनाथ विकास बैंकको शेयर किन्दा लाभांश पाउने सकिने अवस्था छ । बुक क्लोज मिति नतोकेको बाँकी कम्पनीको शेयर किन्दा पनि लाभांश पाइन्छ । हाथवे इन्भेष्टमेन्ट, माछापुच्छ्रे बैंक, युनिभर्सल पावर, कामना सेवा विकास बैंक, नेपाल ल्युव आयल र मञ्जुश्री फाइनान्सको बुक क्लोज मिति पार भइसकेको हुँदा यी कम्पनीको शेयर किन्दा भने लाभांंश पाइदैन ।
अहिलेसम्म पाँच वटा बैंक, पाँच वटा हाइड्रोपावर, दुई वटा विकास बैंक, दुई वटा इन्भेष्टमेन्ट कम्पनी, दुई वटा उत्पादनमूलक क्षेत्रका कम्पनी, दुई वटा लघुवित्त र एउटा फाइनान्स कम्पनी कम्पनीले लाभांश घोषणा गरेका छन्।
सधैंजसो धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ सय ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले अहिलेसम्म बुक क्लोजको सूचना भने निकालेको छैन । अहिलेसम्म लाभांश घोषणा कम्पनीहरुमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ गते साधारण सभा सम्पन्न गरिसकेको छ भने माछापुच्छ्रे बैंकले भदौ २७ गते बुक क्लोज गरिसकेको छ। माछापुच्छ्रे बैंकले असोज १० गते साधारण सभा सम्पन्न गरेको छ । कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले असोज ८ गते बुक क्लोज गरिसकेको छ । कामना सेवाले असोज २४ गते तथा युनिभर्सल पावरले असोज २३ गते साधारण सभा मिति तय गरेका छन्।
त्यस्तै नेपाल ल्युव आयल लिमिटेडले असोज ३१ गते साधारण सभा मिति तय गरेको छ भने असोज १२ गते बुक क्लोज गरिसकेको छ । यता, सानिमा बैंकले कार्तिक २ गते साधारण सभा गर्ने मिति तोकेको छ भने असोज २७ गते बुक क्लोज मिति भन्दा अगाडि शेयर किन्ने लगानीकर्ताले मात्रै बैंकले घोषणा गरेको लाभांश पाउँछन् । त्यस्तै भगवती हाइड्रोपावरले लाभांश घोषणासहित साधारण सभाको मिति पनि सार्वजनिक गरेको छ । कम्पनीले लगानीकर्तालाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश घोषणा गर्दै कार्तिक २ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि असोज २१ बुक क्लोज मिति तोकेको हो । अधिकांश कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति सार्वजनिक गरेका छैनन्।
धेरै लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये युनिलिभर पछि नेपाल ल्यूव आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीको १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सेबोनमा १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्ने आवेदन पेन्डिङ छ।
बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ। गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७ दशमलब ३७ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ भने सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलब २६ प्रतिशत गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । वाणिज्य बैंकमध्ये पछिल्लो पटक सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५ दशमलब २६ प्रतिशत नगद लाभांश गरी कुल १०.५६ प्रतिशत लाभांश घोषणा गरेको छ।
यता विकास बैकमध्ये मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनशसहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। यता फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
लघुवित्तमा अहिलेसम्म गुराँस र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । गुराँसले १४.२५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत शून्य दशमलब ७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने आरएसडीसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
हाइड्रोपावर समुहका सबै कम्पनीले बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनको लागि थोरै मात्रामा नगद लाभांश दिएको छ। सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र शून्य दशमलब ४२ प्रतिशत नगद कुल ८.४२१ प्रतिशत तथा युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र शून्य दशमलब ४७ प्रतिशत नगद गी ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। भगवती हाइड्रोपावरले भने १४ प्रतिशत बोनस र ६ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ।
यता लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलब ६३ प्रतिशत नगद सहित १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेको छ। यता नेपालको एक मात्रै पूर्वाधार विकास बैंकले यस पटक लगानीकर्तालाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले गत वर्ष लगानीकर्ताको हात खाली गरेको थियो।