तिहारका बेला कस्ता मिठाई किन्ने ? यी मिठाईले मानव स्वास्थ्यमा गर्नेछ हानी

Oct 21, 2025 11:14 AM merolagani



तिहार नजिँकिएसँगै बजारमा विभिन्न रंगीबिरंगी मिठाईहरु बिक्रिका लागि राखिन्छ ।

अत्यधिक भीडभाड हुने भएकाले व्यापारीले पनि त्यस्ता रंगीबिरंगी मिठाईहरु ग्राहकलाई भिडाइरहेका हुन्छन् ।

तर, सबै मिठाई स्वास्थ्यका हिसावले सुरक्षित भने मानिदैन् । यस्तो बेला आफुले चिनेको र विश्वासिलो पसलबाट मात्र मिठाईहरु किन्नु उचित हुन्छ ।

तिहारका बेला दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई सगुनका रुपमा विभिन्न प्रकारका मिठाईहरु किनेर लैजाने गरेका छन् । मिठाई किन्दा कुनै कैफियत भेटेमा वा अस्वस्थकर मिठाई बेचेको पाएमा तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नजिकको प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्छ ।

कस्ता मिठाई किन्ने ?

तिहारका बेला मिठाई किन्दै हुनुहुन्छ भने सकभर घरेलु बनेका मिठाई मात्र किन्नु राम्रो हुन्छ । अर्थात, लड्डु,बर्फी, पेडा, अनरसा, सेलरोटी, मोतीचुर आदी घरमै बनाएर लग्दा पनि हुन्छ ।

त्यस्तै मिठाई पसलमा नेचुरल कलर भएका मात्र किन्नुपर्छ । त्यस्तै प्याकेजिङ र म्याद भएको मिठाईमात्र किन्नुपर्छ । दूधबाट बनेका ताजा मिठाइहरु जस्तै खुवा, रसवरी, रसमलाई आदीको पनि म्याद जाँचेर मात्र किन्नुपर्छ ।

कस्तो मिठाई नकिन्ने ?

बजारमा मिठाई किन्दा अत्यधिक चम्किला र रंगीबिरंगी मिठाई किन्नुहुँदैन् । यस्ता मिठाईमा सिन्थेटिक कल (जस्तै मेटानिल यले, रोडामाइन बी, मालाकाइट ग्रीन) जस्ता हानिकारक रासायनिक रंग हुन सक्छन् ।

यस्ता रंगहरुले पाचनमा समस्या, कलेजोमा असर, छालामा एलर्जी र क्यान्सरको जोखिम समेत बढाउने गर्छ । त्यस्तै, अत्यधिक मिठा र चिल्लो मिठाईहरु किन्नुहुँदैन् । डाइबेटिक र बालबालिकाका लागि त्यस्ता मिठाईले विशेष हानी पुर्याउँछ । म्याद सकिएको र पुरानो तेलमा बनाइएका मिठाईहरु किन्नुहुँदैन । त्यस्ता मिठाईले ट्रान्स फ्याट हुन्छ जसले मुटु र पेट दुवैमा असर गर्दछ ।

मिठाई किन्नुअघि के गर्ने ?

यदि तपाई मिठाई किन्न बजारमा जाँदै हुनुहुन्छ भने सर्वप्रथम किन्ने मिठाईको म्याद छ कि छैन् जाँच गर्नुहोस् । त्यहाँ बनाउने कम्पनी र पसलको नाम, रंग र गन्ध अत्यधिक छ कि छैन् भनेर निरिक्षण गर्ने गर्नुपर्छ । सकेसम्म ताजा बनेको मिठाई मात्र किन्नुपर्छ ।

पसल वा बजारमा खुल्ला रुपमा राखिएको मिठाईहरु पनि सकभर किन्नुहुँदैन् । बासी र पुनः प्रयोग भएको तेलबाट बनेका मिठाईहरु पनि किन्नुहुँदैन् ।

तिहारका टिप्सहरु

–सेलरोटी, फिनी, अनरसा, रोट वा अन्य मिठाई चिल्लो र गुलियो हुने भएकाले धेरै खानु हुँदैन ।

–चाडपर्वको बहानामा धेरै गुिलयो र चिल्लो खाँदा स्वास्थ्यमा असर पर्न सक्छ ।

–मधुमेहका बिरामीहरूले सुगरफ्री मिठाई ठिक्क मात्रामा खान सक्छन् ।

–परिकारमा प्रयोग गरिने तेल–घिउ कत्तिको स्वास्थ्यवर्द्धक, ध्यान पुर्याउनुपर्छ ।

– यस्ता परिकार सकेसम्म घरमै तयार गर्नुपर्छ । किन्नै परे विश्वसनीय मिठाई पसलबाट शुद्ध तथा सफा मिठाई खरिद गर्नुपर्छ ।