सामान्यतया घटेको बजारमा शेयर बिक्री गरेर बजारबाट निस्कने सोच बनाएका हुन्छन । निरन्तरको गिरावटमा पनि लगानीकर्ताले नोक्सानी घटाउन शेयर बिक्री गर्ने परिपाटी छ । घट्दो बजारमा धेरैमा नकारात्मक धारणा हुने गरेको पाइन्छ ।

बजार बढ्ने कारणहरु नै लगानीकर्ताले पहिचान गर्न नसक्दा किन्ने मौकामा शेयर बिक्री गरेर निस्किने गरेको देखिन्छ । तर बाठा लगानीकर्ता घट्दो बजारलाई मौकाको रुपमा लिने गरेको पाइन्छ । त्यस्ता लगानीकर्ताहरुले सस्तोमा खरिद गरेको शेयर महँगोमा बिक्री गर्न सक्छन । घटेको बजारमा जोखिम लिने लगानीकर्ताले नै पैसा बनाउन सक्ने बुझाई छ । घटेको शेयर बजारमा ध्यान दिनुपर्ने कुरा यस्ता छन ।
डरलाई व्यवस्थापन गर्ने
शेयर बजार निरन्तर घट्दा केही लगानीकर्ताहरु अतालिएका हुन्छन् । दुखले जोडेको सम्पत्ति निरन्तर ह्रास हुँदा धेरै डराउने गरेका हुन्छन्। त्यसैले बजारमा भएको शेयर बिक्री गरेर घाटा कम गर्ने मनस्थितिमा रहेका हुन्छन् । धेरै लगानीकर्ताले घटेको बजारमा डराउने स्वभावले नै वास्तविक बढाइको फाइदा लिन सकिरहेका हुँदैनन । शेयर बजारमा उतारचढाब सामान्य प्रकृया हो । बजारले निरन्तर एकै दिशाको गति लिदैन । यस्तो बेला लगानीकर्ताहरु सजक भएर लामो अवधिका लगानी रणनीति बनाउनु पर्ने हुन्छ । लगानीकर्ताको मनोभावना कमजोर बनाउनबाट जोगिनु पर्ने हुन्छ । लगानीकर्ताले डर, लोभ वा हडबडीमा शेयर बिक्री गर्न हुँदैन ।
लगानी व्यवस्थापनमा ध्यान दिने
दोस्रो बजारका लगानीकर्ताको लगानी जोखिम सधै हुन्छ । लगानीकर्ताले लगानी गर्नु पूर्व नै धेरै कुराको ध्यान पुर्याएर लगानी गर्नु पर्छ । बलिया र राम्रो कम्पनीको छनोट गर्नुपर्छ । छोटो अवधिको लाभ भन्दा पनि दीगो लगानीलाई प्रथामिकता दिनु पर्छ । बजार घटेको चिन्ता भन्दा पनि लगानीकर्ताले आफ्नो पोर्टफोलियोको समीक्षा गर्नु पर्छ र लगानी विविधीकरणमा ध्यान दिनु पर्छ । लगानीकर्ताले आफ्नो पोर्टफोलियो एउटै क्षेत्रमा राख्दा जोखिम बढी हुन्छ ।
कम्पनीको विश्लेषण गर्ने
घट्दो अवस्थामा लगानीकर्ताहरु थप संयमित भएर कारोबार गर्नु पर्ने हुन्छ । बजारबाट हुने सम्भावित जोखिम कम गर्नको लागि कम्पनी विश्लेषण गर्नुपर्छ । लगानी गरेका कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गर्नु पर्छ । लगानी भएका कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन र भविष्यका सम्भावनाहरु पहिचान गर्नुपर्छ । यदि अधारभूत रुपमा बलिया र प्राविधिक रुपमा पनि राम्रो संकेत भएका कम्पनी घटेको सस्तोदरमा उठाउन सकिन्छ । कमजोर अवस्थामा रहेका कम्पनीलाई विक्री गरी बलिया कम्पनीमा लगानी बढाउनु पर्छ ।
शेयर बजार सिक्ने अवसरको रुपमा लिने
शेयर बजारका लगानीकर्ताले शेयर बजार घटेको अवस्थालाई सिक्ने अवसरको रुपमा पनि लिने गरेको पाइन्छ । शेयर बजारमा आफूले गरेका विगतका गल्तिहरु सुधार गर्नुपर्छ । किन घाटा भएको छ विश्लोषण गर्नुपर्छ । बजार घट्नुका कारणहरुको पहिचना गर्नुपर्छ । लगानीकर्ताहरु नीतिगत व्यवस्थाको बारेमा जानकार हुनुपर्छ । बैंकको ब्याजदर, राजनीति, आर्थिक वृद्धिलगायतका विषयमा जानकार हुनुपर्छ ।
लगानीका लागि नयाँ रणनीति बनाउने
घटिरहेको बेला बजारमा थप लगानी गर्नका लागि उत्तम समय हो । लगानीकर्ताहरुले राम्रा कम्पनीका शेयरहरू सस्तो मूल्यमा प्राप्त गर्न सकिन्छ । पोर्टफोलियोमा भएका बलिया कम्पनीको शेयर एभरेजिङ गर्दै थप्ने गर्नुपर्छ । साथै बजार घटेको बेला एकैचोटी ठूलो रकम लगानी गर्नुको सट्टा, नियमित अन्तरालमा सानो–सानो रकमले शेयर थप्दै जानुपर्छ । नयाँ र राम्रा अवसरको खोजी गर्नु सकिन्छ । जुन कम्पनीहरूको शेयर मूल्य अनावश्यक रूपमा धेरै घटेको छ । तर भविष्यको सम्भावना धेरै राम्रो छ भने त्यस्ता कम्पनीहरूमा लगानी गर्ने अवसर पहिचान गर्नुपर्छ ।
वित्तीय योजनाको व्यवस्थापन गर्ने
निरन्तर घटेको बजारमा भएको पैसा सबै लगानी गर्नु हुँदैन । यस्तो वेला लगानीकर्ताले धैर्य गर्न सक्नु पर्छ । आफूसँग भए भरको पूँजी बजारमा लगानी गर्दा अन्य अत्यवश्यक वित्तीय व्यवस्थापनमा कठिन हुन सक्छ । लगानीकर्ताले आफ्नो व्यक्तिगत आपतकालीन अवस्थाका लागि आवश्यक रकम मौजाद राख्नुपर्ने हुन्छ । त्यसैगरी, घटेको बजारमा लगानीकर्ताले ऋण व्यवस्थापनमा पनि जोड दिन सक्ने छन् । आफूसँग ब्याज तिन सक्ने क्षमता अनुसारको मात्रै ऋणको शेयर खरिद गर्न सकिन्छ । शेयर बजारको उचाई र तल्लो विन्दुलाई मापन गर्न सकिदैन । यो घटेको बजार अझै कति घट्ने हो त्यसैले ऋण व्यवस्थापनमा लगानीकर्ताले जोड दिनुपर्छ ।
शेयर बजार निरन्तर बढ्ने वा निरन्तर घट्ने हुँदैन । बढेपछि घट्छ । घटेपछि बढ्छ । बजारले आफ्नो अनुकुलता अनुसार उतारचढाब गरेको हुन्छ । निरन्तर घट्दो बजारमा लगानीकर्ताले धैर्य र दीर्घकालीन लगानीलाई जोड दिनुपर्छ । बजार घट्नु अपरिहार्य छ । घटेको बजारलाई अवसरको रुपमा लिन सक्नु नै बजारको सफलता हो । यस्तो अवस्थामा बजारले लगानीकर्ताको अनुशासन, ज्ञान र धैर्यको परीक्षा गरेको हुन्छ । त्यसैले दोस्रो बजारका लगानीकर्ता सधै सजक भएर लगानीकाे रणनीति बनाउदा घाटालाई कम गर्न र भविष्यको लागि फाइदा लिन सकिन्छ ।