भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पुँजी बजारको गतिविधिहरु पनि करिब १ हप्ता पछाडि धकेलिन पुग्याे। जेनजी आन्दोलन कारण साधारण सभा केही दिन स्थगन गरेपछि सो लाभांश पाउने समय पनि पछि धकेलिएको छ ।
यस वर्ष अधिकांश कम्पनीले बोनस शेयरमै जोड दिएका छन्। आइतबारसम्म नगद लाभांश घोषणा गरेका मध्ये माछापुच्छ्रे बैक, मञ्जुश्री फाइनान्स, सानिमा बैंक र भगवती हाइड्रोपावरले मात्रै साधारण सभा सम्पन्न गरेका छन् ।
अहिलेसम्म सात वटा बैंक, चार वटा विकास बैंक, पाँच वटा हाइड्रोपावर, दुई वटा इन्भेष्टमेन्ट कम्पनी, तीन वटा उत्पादनमूलक क्षेत्रको कम्पनी, दुई वटा लघुवित्त कम्पनी र एक-एक वटा फाइनान्स र अन्य क्षेत्रको कम्पनीले लाभांश घोषणा गरेका छन्।
सधैंजसो धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ सय ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले अहिलेसम्म बुकक्लोजको सूचना भने निकालेको छैन । अहिलेसम्म लाभांश घोषणा कम्पनीहरुमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ गते साधारण सभा सम्पन्न गरिसकेको छ भने माछापुच्छ्रे बैंकले असोज १० गते साधारण सभा गरेर नगद लाांश समेत वितरण गरिसकेको छ । कम्पनीले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।
कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले असोज ८ गते बुक क्लोज गरिसकेको छ । कामना सेवाले असोज २४ गते तथा युनिभर्सल पावरले असोज २३ गते साधारण सभा गरिसकेको छ । त्यस्तै नेपाल ल्युव आयल लिमिटेडले असोज ३१ गते साधारण सभा गरिसकेको छ ।
यता सानिमा बैंकले कार्तिक २ गते साधारण सभा सम्पन्न गरेको छ । त्यस्तै भगवती हाइड्रोपावरले लाभांश घोषणासहित साधारण सभाको मिति पनि सार्वजनिक गरेको छ । कम्पनीले लगानीकर्तालाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश घोषणा गर्दै कार्तिक २ गते साधारण सभा गरेको छ । बुक क्लोज गरिसकेका कम्पनीमध्ये मुक्तिनाथ विकास बैंकले कार्तिक १५ गते र एभरेष्ट बैंकले कार्तिक १२ गते साधारण सभा गर्दैछ ।
धेरै लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये युनिलिभर पछि नेपाल ल्यूव आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीको १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सेबोनमा १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्ने आवेदन पेन्डिङमा छ।
बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगदसहित ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ। गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७ दशमलब ३७ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ भने सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलब २६ प्रतिशत गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सिद्धार्थ बैंकले ५ प्रतिशत नगद र ५.५३ प्रतिशत १०.५३ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । ग्लोबल आईएमई बैंकले पनि लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश नै घोषणा गरेको छ ।
यता विकास बैकमध्ये मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनशसहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै गरिमा विकास बैंकले ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद गरेर कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेकाे छ भने मितेरी विकास बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ। यता फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
लघुवित्तमा अहिलेसम्म गुराँस र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । गुराँसले १४.२५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत् शून्य दशमलब ७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने आरएसडीसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । गुराँस लघुवित्तले कार्तिक १४ गते बुक क्लोज मिति घोषणा गरेर कार्तिक २३ गते साधारण सभा गर्नेछ ।
हाइड्रोपावर समुहका सबै कम्पनीले बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनको लागि थोरै मात्रामा नगद लाभांश दिएका छन्। सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र शून्य दशमलब ४२ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत तथा युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र शून्य दशमलब ४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। भगवती हाइड्रोपावरले भने १४ प्रतिशत बोनस र ६ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। यता युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र त्यसमा लाग्ने करबापतकाे लागि शून्य दशमलब ४७ प्रतिशत नगद लाभांश गरेर कुल ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ।
यता लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलब ६३ प्रतिशत नगद सहित १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेको छ। यता नेपालको एक मात्रै पूर्वाधार विकास बैंकले यस पटक लगानीकर्तालाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले गत वर्ष लगानीकर्ताको हात खाली गरेको थियो।
उत्पादनमूलक समूहतर्फ युनिलिभर नेपाल, नेपाल ल्युव आयलसँगै हिमालयन डिष्टिलरीले समेत लाभांश घोषणा गरेका छन् । हिमालयन डिष्टिलरीले लगानीकर्तालाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ।
अन्य समूहतर्फ अहिलेसम्म मुक्तिनाथ कृषि कम्पनीले लाभांश घोषणा गरेकाे छ । कम्पनीले ८ प्रतिशत बोनस र ०.४२प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ।