समय सँगै बदलिएको भाइ मसलाको व्यापार, अनलाइन गर्ने कि अफलाइन ? रोजाइ तपाईको

Oct 21, 2025 11:45 AM merolagani



सुवास निरौला

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म उज्यालो पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार भित्री सकेको छ। आउँदो बिहीबार भाइटिकाको साइत बिहान ११ बजेर ४३ मिनेटमा छ।

उक्त दिन सबैको घरमा टिका लगाउने कार्यक्रम हुने छ। टीका थाप्ने र लाइदिने दुवैको लागि नभई नहुने चिज भनेको सप्तरङ्गी टिका नै हो। त्यसपछि छुटाउन नहुने चिजमा पर्छ भाइ मसला। भाइ मसला बिना टिका अधुरो नै हुन्छ। गच्छे अनुसार सबैले थोरै धेरै भाइ मसलाको जोहो गरेकै हुन्छन्। त्यसको लागि काठमाडौँको असन र इन्द्रचोक बजारमा यति बेला निक्कै चहल पहल बढेको छ।

सुकमेल, सुपारी, बदाम, काजु, किसमिस, मखानादेखि लिएर मरमरी, सुठो, चकलेट र मिष्टान्नका वस्तुहरू मिसाएर भाइ मसला तयार गरिन्छ। कसैले छुट्टा छुट्टै किनेर आफै मसलाको पोको तयार पार्छन् भने केहीले भने पहिले सजाएर तयार पारिएका राम्रा पोका खरिद गर्ने प्रचलन छ।

अहिले जति मानिस भौतिक रुपमा विभिन्न बजारमा आफै गएर मसला खरिद गरिरहेका छन् त्यति नै अभौतिक रुपमा अनलाइनमा भाइ मसला सर्च गर्ने पनि कम छैनन्। बजारमा भौतिक रुपमा उपस्थित हुनेको भिड देखिन्छ तर अनलाइनमा पनि त्यति नै आकर्षण छ भन्ने कुरा अनलाइन स्टोरहरूले सामाजिक सञ्जाल मार्फत गरिरहेको प्रचारले प्रस्ट्याउँछ।

अहिलेको समय भनेको नै जेनजी समुहको हो। जो सन् १९९७ देखि २०१२ सम्म जन्मिए। जसलाई ‘डिजिटल नेटिभ्स” पनि भन्ने गरिन्छ। यो पुस्ता जन्मदेखि इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जालसँग जोडिए। भर्खरै मात्रै नेपालमा ठूलो आन्दोलन यही समूहले गरेकोले पनि अहिले यो पुस्ता बारे थाहा नपाउने निक्कै कम छन्। यो पुस्ताको शिक्षा र सिकाइ पनि अनलाइन नै बढी छ। सोही कारण यो पुस्ता अति आवश्यक विषयमा मात्रै भौतिक उपस्थिति जनाउन मन पराउँछ। अन्यथा यो पुस्ता अनलाइनमा नै बढी रमाउँछ। सोही कारण अहिले अनलाइन मार्फत किनमेल गर्ने बढेका हुन्।

चाहे अनलाइनमा किनमेल गर्ने हुन् वा अफलाइनमा सबैले यस पटक भाइ मसलाको मूल्य बढेको अनुभव गरेका छन्। मूल्य वृद्धि हुनु आफ्नो ठाउँमा छ। तर व्यापार नहुने कुरै छैन। यही समयमा भाइ मसालाको बढी नै व्यापार हुन्छ भनेर नै व्यापारीहरूले पहिले देखि नै भाइ मसलाको स्टक मगाइसकेका छन्। यस वर्षको असोजसम्मको भन्सार विभागको तथ्याङ्क अनुसार मुलुकभर चालु आर्थिक वर्षको असोज महिनासम्म मात्रै एक अर्ब ६२ करोड ९८ लाख ८२ हजार रुपैयाँको एक करोड ४३ लाख १० हजार २३४ किलो भाइ मसलाको आयात व्यवसायीले गरिसकेका छन्। जबकि गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड ८२ लाख ११ हजार रुपैयाँको ८५ लाख २१ हजार ९११ केजी मसलाजन्य सामग्री आयात भएको थियो। आयातको तुलना गर्दा परिमाणको आधारमा चालु वर्ष ६७.९२ प्रतिशत बढी परिमाणमा भाइ मसला आयात भएको छ। तर मूल्यको हिसाबले हेर्दा जम्मा ११ प्रतिशत मात्रै बढी छ। बढी परिमाणमा आयात भएको भाइ मसलाले चालु वर्ष ५० प्रतिशतले खपत बढ्ने अनुमान व्यवसायीको देखिन्छ। किनकि उनीहरूले पोहोर भन्दा बढी परिमाणमा भाइ मसला आयात गरेका छन्।

चालु वर्ष आयात भएको भाइ मसलामा १७ करोड ८० लाख रुपैयाँको एक लाख ८७ हजार ६५३ केजी काजु, २३ करोड ७९ लाख ८० हजार रुपैयाँको एक लाख ११ हजार केजी बदाम, २४ करोड ६४ लाख दुई हजार रुपैयाँको तीन लाख ४७ हजार १६० केजी ओखर, चार करोड ६ लाख ६१ हजार रुपैयाँको २०० केजी पिस्ता, ४७ करोड नौ लाख ३४ हजार रुपैयाँको १६ लाख ७९ हजार केजी सुपारी, २६ करोड ७३ लाख ४९ हजार रुपैयाँको ७७ हजार ८२७ केजी ल्वाङ, तीन करोड चार लाख आठ हजार रुपैयाँको र ११ करोड ४० लाख २४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकमेल आयात भएको भन्सार विभागले जनाएको छ।

भाइटिकाको परम्परा प्रेम, माया र कर्तव्यसँग जोडिएको सांस्कृतिक प्रतीक हो। त्यसैले यो पर्व नजिकिँदा मसला व्यापारले सधैँजस्तो यो वर्ष पनि काठमाडौँको बजारमा रौनक छरेको छ।   चाहे त्यो असन, इन्द्रचोक, नयाँरोड, कलङ्की र न्युरोडका मसला पसलहरूमा बिहानदेखि बेलुकासम्म लागेको ग्राहकको भीड होस् वा अनलाइनमा देखिने आकर्षक भाइ मसलाका विज्ञापन नै किन नहुन्। ग्राहकको रोजाइमा दुवै विकल्प छन्। रोज्ने कुन त्यो तपाईकै हातमा छ।