मौखिम सहमतिले ट्रंक तथा डेडिकेटेड महशुल विवाद थप बल्झिने चिन्ता

Nov 05, 2025 02:57 PM merolagani



उद्योगी र सरकारबीचको मौखिम सहमतिका कारण ट्रंक तथा डेडिकेटेड महशुल विवाद पुनः बल्झिने देखिएको छ । 

गत सोमबार प्रधानमन्त्री शुशिला कार्कीसहित अर्थ, उद्योग, ऊर्जामन्त्री र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सम्मिलित बैठकले ट्रंक तथा डेडिकेटेड महशुल विवाद समाधान गर्न मध्यमार्गी प्रस्ताव अघि बढाउने सहमति भएको थियो ।

तर, उक्त सहमति मौखिम रुपमा मात्र भएको उद्योगीहरुले बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पत्रकार सम्मेलन गर्दै मध्यमार्गी प्रस्ताव कार्यान्वयन गर्न प्रधानमन्त्री सहमत भएको बताए ।

तर, लिखित रुपमै सहमति भने नगरेको उनले बताए । ‘प्रधानमन्त्रीज्यूसहित अर्थ,ऊर्जा र उद्योग मन्त्री उपस्थिति भएको छलफलमा मध्यमार्गी प्रस्ताव भएको हो,’ उनले भने, ‘ प्रधानमन्त्री नै सहमति भएको विषयमा हाम्रो लिखित सहमति भने भएन् ।’

उनले ऊर्जामन्त्री कुलमान घिसिङ स्वंयम पनि छलफलमै भाग लिएकाले प्रधानमन्त्रीको रोहबरमा सहमति भएको बताए । सरकारसँग उद्योगीले लिखित सम्झौता नगर्दा यो मुद्दा अझै बल्झिने संशय पैदा भएको छ । मध्यमार्गी प्रस्तावअनुसार, उद्योगीहरुले २८ किस्तामध्ये एक किस्ता बराबरको रकम जम्मा गर्न तयार छन् । तर, त्यो रकम किस्ताको रुपमा नभइ विवादित रकम मानी धरौटी रुपमा मात्र स्वीकार गरिनुपर्ने उद्योगीको अडान छ ।

तर, अहिले पनि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले विवादित रकम मानी धरौटीका रुपमा स्वीकार गर्न तयार छैन् । अर्थात, उसले २८ किस्तामध्ये एक किस्ताकै रुपमा स्वीकार गर्ने जनाइरहेको छ । त्यस्तै, धरौटी रकम बुझाएपछि पनि प्राधिकरणले सम्पूर्ण बक्यौता माग गैरकानुनी एवं प्रमाणहीन रहेको भन्ने दाबीसहित कानुनी उपचारमा जाने उद्योगीले बताइरहेका छन् ।

तर, प्राधिकरणले भने एक किस्ता तिरेर मात्र नहुने बताउँदै आएको छ । उसले २८ किस्ता नतिरेसम्म भविष्यमा पनि उद्योगमा लाइन काट्न सक्ने सम्भावना उत्तिकै देखिन्छ । उद्योगीहरुले एक किस्ताबापत विवादित रकम बुझाउनका लागि आफुहरु चेक काटेर बसेको बताएका छन् । तर, सरकारबाट अहिलेसम्म मध्यमार्गी प्रस्ताव उपर कुनै निर्देशन वा निर्णय भइ आएको छैन् ।

 

कतिपय उद्योगहरुले किस्ताबन्दीकै रुपमा महशुल बुझाउन सुरु गरिसकेको अवस्थामा अन्य उद्योगहरुले के गर्ने भन्ने अन्योल भने यथावत छ । लामो समयदेखि विवादित विषय टुंग्याउन नेपाल उद्योग वाणिज्य महासंघले पहल गरे पनि दीर्घकालीन रुपमा समस्या समाधान हुनेमा कतिपय उद्योगीहरु अझै संशकित छन् ।

 

 

 

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।