नेपाल वायु निगममा रहेका २ हजार कर्मचारी मध्ये आधाभन्दा धेरैलाई अवकाश दिने तयारी

Nov 06, 2025 04:04 PM mero lagani



सरकारले नेपाल वायुसेवा निगम (नेवानी)मा कार्यरत २ हजारभन्दा बढी कर्मचारीहरुमध्ये आधा भन्दा धेरैलाई अवकाश दिने तयारी गरेको छ ।

निगममा २,००४ कर्मचारीहरू कार्यरत रहेकामध्ये स्थायी कर्मचारीको सङ्ख्या केवल ९२६ रहेको छ भने अस्थायी ५३९, करारका २७३ र ज्यालादारीसहित अन्य २६६ कर्मचारी रहेका छन् ।

 

ती मध्ये स्थायी कर्मचारीलाई राखेर अस्थायी, करार र ज्यालादारीमा रहेका कर्मचारीलाई अवकाश दिने तयारी गरिएको हो । तर, एकै पटक अवकाश दिँदा आन्दोलन चर्किन सक्ने भएकोले विभिन्न स्किमसहित चरणवद्ध रुपमा अवकाश दिने गरि तयारी शुरु भएको निगमको व्यवस्थापन स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले हालै निगमका अध्यक्ष विक्रम राईसहित संचालक समितिका पदाधिकारी र व्यवस्थापनका उच्च अधिकारीहरुलाई बोलाएर छलफल गरेकी थिइन् । त्यस क्रममा उनले निगम सुधारका एजेण्डा माग गर्नुको साथै राजनीतिक पहुँचको आधारमा नियुक्त भएका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाउनको लागि स्पष्ट खाका पेश गर्न समेत आदेश दिएकी थिइन् ।

त्यहीअनुसार निगमको संचालक समितिले अहिले कर्मचारी अवकाशको खाका बनाइरहेको निगम स्रोतले मेरो लगानीलाई जानकारी दियो । पहिले नियुक्ति भएकोलाई पहिले अवकाश दिने र त्योअनुसार क्रमिक रुपमा पछि नियुक्ति भएकोलाई पछि अवकाश दिने, निगमलाई ठूलो मात्रामा अतिरिक्त व्ययभार नपर्ने गरि अवकासका स्किमहरु लागु गर्नेलगायतका योजनाहरु बनाइरहेको र प्रधानमन्त्री कार्कीसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेपछि त्यसलाई अन्तिमरुप दिने तयारी भइरहेको निगम स्रोतले जानकारी दियो ।

हाल झन्डै १७ अर्ब रुपैयाँको सञ्चित नोक्सानी रहेको नेपाल वायुसेवा निगमसँग आन्तरिकतर्फ उड्ने एउटा र अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा वाइडबडी एक दुईवटा न्यारोबडी गरी चारवटा मात्र जहाजहरू छन् । नेपाल वायुसेवा निगमका विभिन्न आठ देशका ११ वटा ठाउँमा कार्यालयहरू रहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।