'सेक्सी' नदेखिएको भन्दै आयोजकले मेक्सिकन सुन्दरीलाई गाली गरेपछि मिस युनिभर्स प्रतियोगितामा भाँडभैलो

Nov 06, 2025 05:26 PM mero lagani



थाइल्याण्डको बैंककमा भइरहेको ७४ औं मिस युनिभर्स प्रतियोगितामा भाँडभैलो भएको छ । विवाद भएपछि कार्यक्रम नै अवरुद्ध भएको छ र अब कसरी शुरु होला भन्ने प्रश्न उठेको छ ।

प्रतियोगिता शुरु हुनुभन्दा ठीक अगाडिको एक समारोहमा, मिस युनिभर्स थाइल्याण्डका निर्देशक नवाट इटसाराग्रिसिलले दर्जनौं प्रतियोगीहरूको अगाडि मिस युनिभर्स मेक्सिको फतिमा बोशलाई सेक्सी नदेखिएको र भद्धा कपडा लगाएको भन्दै गाली गरेपछि अन्य देशका सुन्दरीहरुले पनि प्रतिवाद गरेका थिए । कार्यक्रममा मिस युनिभर्स नेपाल सान्या अधिकारीसहित विश्वभरका ७५ जना सुन्दरीहरु सहभागि छन् ।

कार्यक्रको नवाटले सुरक्षाकर्मीलाई बोलाएर बोश र उनलाई समर्थन गर्नेहरूलाई अयोग्य घोषित ठहराउने धम्की दिएपछि विवाद चर्किएको छ । त्यसपछि सबै सुन्दरीहरु एक ठाउँमा जम्मा भएर बसिरहेका छन् ।

प्रत्यक्ष प्रसारण गरिएको घटनाको भिडियो अनलाइनमा सेयर गरिएको छ । मिस युनिभर्स अर्गनाइजेसनले नवाटको दुर्भावनापूर्ण व्यवहारको निन्दा गरेको छ भने उनले पनि माफी मागेका छन्। नवाटले आफ्नो भनाइलाई बंग्याइएको दावी गरेका छन् ।

तर, सुन्दरीहरुले ६० वर्षिय नवाटको नियत नै खराब रहेको दावी गर्दै उनलाई वर्खास्त गर्न माग गरेका छन् । आयोजकहरुले नवाटको भूमिका सिमित गर्न तयार भएपनि वर्खास्त गर्न नमान्दा कुरो नमिलेको बताइएको छ ।

‘मिस युनिभर्स प्रतियोगिता महिलाको सम्मान गर्ने प्रतियोगिता हो भन्ने बुझाई थियो । तर, यहाँ त अपमान गरियो । यस्तो अपमान सहेर कार्यक्रम हुनु र जित्नु पनि ठूलो कुरो हुँदैन,’ डेनमार्ककी मिस युनिभर्स भिक्टोरिया क्जेर थेल्भिगले भनिन।

गाली खाएकी मेक्सिकन सुन्दरी बोशले आफू कसैको पुतली नभएको र पुतली जस्तो देखिने रहर नभएको भन्दै भनेकी छन्— म मेरो देश र संसारलाई थाहा दिन चाहन्छु, मेरो एउटा उद्देश्य छ। म यहाँ सबै महिला र सबै केटीहरूको आवाज बन्न आएको हुँ जसले कारणका लागि लड्छन् र मेरो देशलाई म त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध छु भनेर बताउन आएकी हुँ ।

यस विवादको बावजुद मिस युनिभर्स प्रतियोगिता जारी छ, प्रतियोगीहरूले बुधबार बैंककमा स्वागत कार्यक्रममा भाग लिएका छन् । उनीहरुमध्ये धेरै जना भने कार्यक्रमप्रति चासो राख्न छोडेको र कतिपयले बिचैमा छोडेर स्वदेश फर्किने तयारी गरेको बताइएको छ । त्यसो भएमा समग्र प्रतियोगिताको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने भन्दै आयोजकहरुले सुन्दरीहरुलाई शान्त भएर कार्यक्रम सफल पार्न अनुरोध गरिरहेको बताइएको छ ।

स्मरण रहोस् कार्यक्रमको विजेतालाई नोभेम्बर २१ मा नयाँ मिस युनिभर्सको ताज पहिराइनेछ।

(तस्बिर: सेक्सि नदेखिएको भन्दै आयोजकबाट गाली खाएकी मिस मेक्सिको फतिमा बोश र कार्यक्रममा सहभागि रहेकी नेपालकी मिस युनिभर्स सान्या अधिकारी)