विद्युत उत्पादन पुनः सुचारु भएपछि पाँचथर पावर कम्पनी नाफामा

Nov 11, 2025 12:40 PM Merolagani



पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड ५६ लाख नोक्सानीमा थियो। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकर इक्यूपमेण्ट समेत क्षति भएका कारण गत आर्थिक वर्षमा कम्पनीले विद्युत उत्पादन गर्न नसक्दा कम्पनी नोक्सानीमा पुगेको हो। सोको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेपख पुनः विद्युत उत्पादन सुचारु भएकोले अहिले कम्पनी नाफामा पुगेको हो।

गत असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ५ करोड १ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १३.५० गुणा रहेको छ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोपा ३ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।