घट्दो ब्याज दर र बिजुली उत्पादन बढ्दाको सकारात्मक प्रभाव हाइड्रोपावर कम्पनीमा, खुद नाफासँगै प्रतिशेयर आम्दानी र नेटवर्थ पनि बढ्यो

Nov 19, 2025 06:02 AM MeroLagani



ऋणको माग नभएर बैंकमा थुप्रिएको तरलताको फाइदा हाइड्रोपावर कम्पनीहरुको ब्यालेन्स सिटमा देखिएको छ । नेपाल एक्सचेन्जमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुको नाफामा वृद्धि देखिएको छ । वित्तीय विवरण सार्वजनिक गरेका ९१ कम्पनीहरुको औसत नाफा ४६ दशमलब ४० प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर सस्तो भइ आफ्नो लागत घट्न गएपछि हाइड्रोपावर कम्पनीको नाफा बढेको हो। साधारणतया हरेक आर्थिक वर्षको पहिलो त्रैमासमा बिजुली बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ । नेप्सेमा सूचीकृत सबैजसो हाइड्रोपावर कम्पनीहरु ‘रन अफ रिभर’ मा आधारित कम्पनी हुन जसले नदीमा पानीको बहाव बढ्दा धेरै विद्युत उत्पादन गर्छन् भने नदीमा पानीको बहाव कम हुने हिउँदको समयमा विद्युत उत्पादन कम हुन्छ ।

यसपटक समयमै राम्रो वर्षात भएकाले हाइड्रोपावर कम्पनीहरुबाट बढी बिजुली उत्पादन भएको र सो बिजुली खेर नगएर सबै बिक्री भएकाले पनि हाइड्रोपावर कम्पनीको नाफामा वृद्धि देखिएको हाइड्रोपावर सञ्चालकहरु बताउँछन् । हुन त पोहोर साल र यो साल पनि अत्यधिक वर्षातका कारण बाढी पहिरोले केही हाइड्रोपावरमा क्षति समेत पुर्याएको छ तर सबै हाइड्रोपावर बैंक ऋणको उपयोग गरेको हुनाले सबै हाइड्रोपावरको बीमा गरिएको हुन्छ । बीमा दाबीबाट क्षतिपूर्ति हुने हुँदा बाढी पहिरोको न्यून असर ब्यालेन्स सिटमा देखिने गरेको हाइड्रोपावर सञ्चालकहरुको दाबी छ ।

वित्तीय विवरण सार्वजनिक गरेको ९१ कम्पनीमा ८० वटा हाइड्रोपावर कम्पनी नाफामा छन् भने ११ कम्पनी नोक्सानीमा छन्। गत वर्ष पहिलो त्रैमासमा ७४ कम्पनी नाफामा हुँदा १७ वटा कम्पनी नोक्सानीमा थिए।

यो वर्ष अपर तामाकोशीले सबैभन्दा धेरै १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्षको तुलनामा मुनाफा १६५ प्रतिशतले बढाएको हो। अपर तामाकोशीले गत वर्ष पहिलो त्रैमासमा ६३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो। चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नोक्सान भने रसुवागढी हाइड्रोपावर कम्पनीको ६५ करोड ३३ लाख ५४ हजार रुपैयाँ घाटा रहेको छ । बाढीका कारण अत्यधिक क्षति भएका कारण पनि रसुवागढी नोक्सानीमा गएको हो। गत वर्ष रसुवागढीको नोक्सानी १ करोड ४ लाचख ४९ हजार रुपैयाँ मात्रै थियो ।

विद्युत बिक्री बढ्नुका साथै बैंकको ब्याजदरमा आएको गिरावटले लागत घटेका कारण हाइड्राेपावर कम्पनीकाे नाफा बढेको ऊर्जा उत्पादकहरु बताउँछन्। खुद मुनाफामा वृद्धिसँगै हाइड्रोपावर कम्पनीहरुको प्रति शेयर आम्दानीमा समेत वृद्धि देखिएको छ । चालु आवको प्रथम त्रैमासमा माउन्टेन इनर्जीले सबैभन्दा बढी ६५ रुपैयाँ ९ पैसा प्रति शेयर आम्दानी देखाएको छ भने रसुवागढी हाइड्रोपावरको प्रति शेयर आम्दानी ३८ रुपैयाँ २० पैसाले ऋणात्मक देखिएको छ । समग्रमा हाइड्रोपावर कम्पनीको प्रति शेयर आम्दानी औसतमा ३६ प्रतिशतले वृद्धि देखिएको छ ।

त्यस्तै खुद नाफामा वृद्धिसँगै हाइड्रोपावर कमपनीको नेटवर्थमा पनि वृद्धि देखिएको छ । ९१ वटा कम्पनीमध्ये बुटवल पावरको नेटवर्थ सबैभन्दा धेरै २ सय १० रुपैयाँ ४३ पैसा रहेको छ भने सबैभन्दा कम नेटवर्थ दिब्यश्वरी हाइड्रोपावरको ७ रुपैयाँँ ७७ पैसा मात्रै रहेको छ । समग्र हाइड्रोपावरको नेटवर्थमा ३.४३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

आयोजना निर्माण गर्दा लिएको ऋणको ब्याज भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ। तर, बैंक तथा वित्तीय संस्थाको ब्याजदर अहिले न्यून विन्दुमा आएको छ। बैंकको ब्याजदर पछिल्लो तीन वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ। निक्षेपको ब्याजदर २.७५ प्रतिशतमा आउँदा कर्जाकै औसत ब्याजदर असोजमा ७.५० प्रतिशतमा झरेको छ। ब्याजदरमा गिरावटको प्रभाव जलविद्युत कम्पनीको नाफामा हो।