मानव अधिकार आयोगले समेत प्रसाईंको मानव अधिकार हनन गर्न नपाउने कुरा सरकारलाई भनिसकेकाले पनि सरकारले उसलाई पक्राउ गरेर राख्न नपाउने स्पष्ट पारे । अध्यक्ष ओलीले प्रसाईंलाई बोल्न नदिन सरकारले उत्तेजित भएर नियन्त्रणमा लिने काम गरेको उल्लेख गर्दै सो कुरा स्वीकार्य नहुने समेत बताए। बोलेबापत वा एउटा भिडियो सार्वजनिक गरेबापत सरकारले उत्तेजित भएर प्रसाईंलाई पक्राउ गर्न नमिल्ने ओलीको भनाई थियो ।
उनले भने,‘म सरकारलाई भन्न चाहन्छु–दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाईने पनि हुन्छ । मानव अधिकार आयोगले भनिसकेको छ–बोले बापत नै थुन्न मानव अधिकारको उल्लंघन हो । सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ । त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफतार गर्नुहुँदैन । कसलाई को मन पर्छ, कसलाई को मन पर्छ ? तर के मा थुन्ने, के मा नथुन्ने भन्ने हुन्छ नि त । अपराधमा पो थुन्ने हो त । अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो ?’
अध्यक्ष ओलीले सरकारले बोल्दा पनि अपराधीलाई जस्तो व्यवहार गर्ने गरेको आरोप समेत लगाए ।