काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

Nov 19, 2025 09:14 PM mero lagani



सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ ।

पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं गोर्खाज साविकको उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । हर्मित सिंहको अलराउण्ड प्रदर्शनमा काठमान्डु गोर्खाजलाई १६.५ ओभरमा ११८ रनमा अलआउट गर्दै सुदूर पश्चिमले जित निकालेको हो ।


काठमान्डुको लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २,२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बलमा ५३ रन बनाएका थिए ।

बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २,२ विकेट लिएका थिए ।