बोर्डले राय सुझाव मात्रै दिन भनेको छैन, बोर्डले तयार पारेको मस्यौदा नै आम सर्वसाधारणलाई अध्ययन गर्न सार्वजनिक रुपमा नै प्रकाशित गरिदिएको छ। प्रकाशित मस्यौदा अध्ययन गरेर जो कोहीले सुझाव दिन सक्छन्। प्रकाशित मस्यौदा अध्ययन गरेका ब्रोकर कम्पनीका सञ्चालकहरूले भने उक्त मस्यौदा यस अघिको भन्दा केही राम्रो आएको तर उक्त मस्यौदाकै आधारमा भने मार्जिन सेवा सुरु हुन नसक्ने प्रतिक्रिया दिएका छन्। किनकि ब्रोकर कम्पनीले मार्जिन सेवा दिने भनेको शेयर धितो राखेर ऋण दिने हो। ऋण दिनको लागि स्रोत आवश्यक पर्छ। मुख्य स्रोत कै विषयमा मस्यौदामा खासै केही पनि छैन। जबसम्म ब्रोकरको स्रोत सुनिश्चित गर्ने विषय आउँदैन तबसम्म सेवा उपलब्ध हुन कठिन हुने ब्रोकर कम्पनीहरूको तर्क छ।
“अहिलेसम्म ब्रोकरले मार्जिन सेवा दिन नसक्नुको मुख्य समस्या भनेको नै स्रोत हो। जुन विषयमा अहिले पनि मस्यौदामा खासै केही छैन। त्यसकारण ब्रोकरले सेवा सुरु गर्नेमा आशङ्का छ,” स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले भने।

मस्यौदा अनुसार कुनै पनि ब्रोकर कम्पनीले आफ्नो नेटवर्थको पाँच गुणासम्म कर्जा दिन सक्छन्। अहिले धेरै जसो ब्रोकर कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ छ। त्यसैलाई आधार मान्दा पनि एक ब्रोकरले कम्तीमा एक अर्ब रुपैयाँसम्म कर्जा दिन सक्छ। अहिले नेपालमा ९२ वटा ब्रोकर कम्पनी छन्। त्यसमा दुई स्टक डिलर हुन्। सबैले आफ्नो नेटवर्थ अनुसार कर्जा प्रवाह गर्ने हो भने एक खर्ब पाँच अर्ब रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्छन्।
ब्रोकर सँग नेटवर्थ पर्याप्त छ। तर ऋण उपलब्ध गराउनको लागि पर्याप्त रकम छैन। मस्यौदामा स्रोत सुनिश्चितताको मस्यौदामा मार्जिन कारोबार सुविधा दिन धितोपत्र दलाल व्यवसायीको आर्थिक श्रोत सम्बन्धी व्यवस्था छ। जसको (१)मा “धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो शेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ,” भनिएको छ।
मस्यौदामा भएको व्यवस्था अनुसार सबै ब्रोकर कम्पनीले पर्याप्त ऋण दिन सक्ने अवस्था छैन। किनकि दलाल व्यवसायीकाे आफ्नै स्रोत कमजोर छ। आफ्नो शेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिनको लागि व्यवसायीका शेयरधनी वा सञ्चालक आफै सक्षम छैनन्। बैंक तथा वित्तीय संस्थासँग ऋण लिन सजिलो छैन। अहिलेको अवस्थामा ऋणको लागि धितो चाहिन्छ। पर्याप्त रकमको लागि धितो राख्ने ल्याकत व्यवसायीमा छैन। ल्याकत नै भएपनि ब्रोकर कम्पनीले ऋण लिएर अर्को ऋण दिन मिल्ने व्यवस्था छैन। ल्याकत हुनेले पनि के शीर्षकमा कसरी ऋण लिने भन्ने व्यवस्था राष्ट्र बैंकले नगरेसम्म ब्रोकरले स्रोत जुटाउन सक्दैनन्।
यसले गर्दा सबैभन्दा ठूलो समस्या भनेको स्रोत नै हो। ब्रोकरले बैंकबाट नै ऋण लिएर मार्जिन सेवा सुचारु गर्न चाहेका छन्। तर ब्रोकरले बैंकबाट ऋण लिनको लागि राष्ट्र बैंकले व्यवस्था नगरिदिएसम्म ब्रोकरले मार्जिन सेवा सुरु गर्नै नसक्ने मैनालीको भनाई छ।
अहिलेको व्यवस्था अनुसार स्टक ब्रोकरले सेवा सुरु गर्न सक्ने सम्भावना छ। किनकि स्टक डिलरको संस्थापक वा शेयरधनी भनेका दुई ठूला संस्था छन्। एक नबिल बैंक हो भने अर्को नागरिक लगानी कोष हो। उनीहरूले आफ्नो संस्थापक वा शेयरधनीबाट ऋण ल्याएर सेवा सुरु गर्न सक्छन्। त्यो बाहेक अरू ब्रोकरले स्रोतका लागि बैंक कै मुख ताक्नु पर्ने हुन्छ।
अहिले धितोपत्र बोर्डले मार्जिन सेवा सुरु गराउनको लागि जुन निर्देशन बनाउँदै छ। त्यसले ब्रोकरको स्रोत सुनिश्चित गर्दैन। त्यसले गर्दा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नचाहेसम्म नेपालमा ब्रोकरले मार्जिन सेवा दिनै नसक्ने बताइएको छ।