यूएईले पुनः खुलायो श्रम तथा भिजिट भिसा, प्रहरीले दिएको चारित्रिक प्रमाणपत्र अनिवार्य

Nov 26, 2025 03:00 PM Merolagani



जेनजी आन्दोलनपछि अनौपचारिक रूपमा रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को श्रम र भिजिट भिसा अब पुनः खुला भएको छ। 

भिसा प्रक्रियामा कडाइ भने बढेको छ, जसअनुसार यूएई जाने सबै नेपालीलाई अब प्रहरीको चारित्रिक प्रमाणपत्र (पुलिस रिर्पोट) अनिवार्य हुनेछ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार भिसा पुनः खुलासँगै नेपाली कामदार र पर्यटकले भिसा पाउन थालेका छन् र केहिले आजै भिसा पनि प्राप्त गरेका छन् ।

यूएईले भिसा रोकिएको कुरा न त्यतिबेला औपचारिक रूपमा सार्वजनिक गरेको थियो, न त अहिले भिसा खुलाएको सूचना औपचारिक ढंगले नेपाल सरकारलाई दिएको छ। तथापि, भिसा प्राप्त हुन थालेपछि रोक हटेको पुष्टि भएको संघले जनाएको छ।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जेलबाट कैदी फरार भएको घटनापछि यूएईले नेपाली भिसामा कडाइ गर्दै रोक लगाएको बुझिएको छ। फरार व्यक्तिहरूबारे स्पष्टता खोज्ने क्रममा यूएईले भिसा प्रक्रियामा सतर्कता बढाएको थियो।

 

भिसा रोकिने क्रमपछि परराष्ट्र मन्त्रालय र यूएई सरकारबीच निरन्तर संवाद भएको थियो। यस्तै, वैदेशिक रोजगार व्यवसायी संघले श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै समस्या समाधानमा पहल गरेको थियो।

भिसा खुलासँगै यूएई जाने तयारीमा रहेका हजारौँ नेपाली कामदार तथा भ्रमणकर्ताको समस्या हट्ने अपेक्षा गरिएको छ। अब सबै प्रक्रिया प्रहरीले दिएको चारित्रिक प्रमाणपत्र सहित पूरा गरेपछि मात्रै यूएई प्रवेश भिसा प्राप्त गर्न सकिनेछ।