गत वर्ष मंसीर १४ गते पहिलो त्रैमासिक समीक्षा गरेको राष्ट्र बैंकले यस वर्ष आगामी साेमबार भित्र समीक्षा सार्वजनिक गर्नेछ । केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले मंसीर १५ गते भन्दा अगाडि नै समीक्षा सार्वजनिक गर्नुपर्ने प्रचलन रहेको बताए ।

अहिले वित्तीय क्षेत्र अधिक तरलताको समस्यामा छ । बैंक तथा वित्तीय संस्थासँग अहिले लगानी हुन नसकेको ११ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको रकम छ । यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बैंकहरूमा रहेको अधिक तरलता खिच्दै आएको छ ।
राष्ट्र बैंक प्रणालीमा रहेको अधिक तरलता खिच्दै जाने तर हरेक महिना रेमिट्यान्स बढेसँगै बढेको विदेशी विनिमय सञ्चितिले अधिक तरलता तत्काल समाधान हुने सम्भावना देखिएको छैन । असोज महिनामा मात्रै २ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ भने विदेशी विनिमय सञ्चिति झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ । यसरी आउने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा हुने, तर लगानी तथा उपभोग कम भएका कारण यसले अधिक तरलता बढाउँदै गएको देखिन्छ । रेमिट्यान्स आउने क्रम बढ्दै गएको अवस्थामा आगामी दिनमा समेत तरलताको अवस्थामा सुधार आउने अवस्था नदेखिएको बैंकरहरूको भनाइ छ ।
एकातिर बैकिङ प्रणालीमा तरलता बढ्दै गएको छ भने अर्कोतर्फ एकल ब्याज दर हुँदा पनि ऋणको माग बढ्न सकेको छैन । ऋणको माग एकदमै सुस्त भएपछि बैकहरुले सस्ताेमा स्थिर ब्याज दरमा घर र गाडी कर्जा दिन विज्ञापन गर्न थालेका छन् । शेयर धितो कर्जामा पनि बैंकहरु आक्रामक ढंगले लागेका छन् ।
शेयर लगानीकर्ताले विगत लामो समयदेखि मार्जिन कर्जाको सीमा हटाउन माग गर्दै आएकोमा केन्द्रीय बैंकको गभर्नरमा डा. विश्व पौडेल आएसँगै सो माग सम्बोधन भइसकेको छ । ४–१२ करोडको नीतिलाई डा. पौडेल आएपछि २५ करोड गरिएकोमा सो सीमालाई अहिले खारेज गरिसकेको छ भने बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा न्यूनतम ६ महिनासम्म होल्ड गर्ने गरी लगानी गर्न सक्ने व्यवस्था खुला गरिएको छ । यसअघि यो शेयर बजारमा गरिएको लगानी एक वर्ष ‘होल्ड’ गर्नुपर्ने व्यवस्था थियो । प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्रै लगानी बिक्री गर्न पाउने प्रावधान पनि जेनजी आन्दोलन पछि हटाइएको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले राष्ट्र बैंकले पूँजी बजारसँग सम्बन्धित धेरै नीतिहरु परिवर्तन गरिसकेको भए पनि अझै केही माग बाँकी रहेको बताए । ‘बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको शेयर किन्दा ६ महिना होल्ड गर्नुपर्ने व्यवस्थालाई खुला गर्नुपर्ने र मार्जिन कर्जा दिँदा पूँजी कोषको ४० प्रतिशत मात्रै दिन पाउने व्यवस्था हटाउनु पर्छ । बैंकसँग तरलता फालाफाल भएको बेला बैंकले नै निर्णय गर्न पाउने गरी खुला छोड्नुपर्छ ।’–उनले भने ।
यता बैंकरहरु भने बढ्दाे खराब कर्जाका कारण प्रोभिजन थप्नुपर्दा हैरान देखिएका छन् जसले गर्दा पुँजी कोषमा समेत असर पर्न गएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले खराब कर्जाको प्रोभिजन राख्ने विषयमा केही खुकुलो नीति लिन अनुरोध गर्ने गरी छलफल भएको बताए । ‘केन्द्रीय बैंकले पनि दक्षिण एसियाली राष्ट्रका केन्द्रीय बैंकले जस्तै खराब कर्जाकाे प्रोभिजनमा खुकुलो होस् भन्ने हामीले चाहेका छौं ।–उनले भने । राष्ट्र बैंकको प्रावधान अनुसार अहिले कृषि, एसएमई, विपन्न वर्ग, ऊर्जालगायतमा प्रतिशत तोकेर कर्जा दिन निर्देशन दिइएको छ। निर्देशित कर्जा लगानीमा खुकुलो नीति लिने विषयमा बैकर्स संघमा छलफल भएको उनले बताए ।