यहाँ अन्ततः भन्नुको अर्थ के हो भने केही दिन अघि बैंकका अध्यक्ष देवी भट्टचन पक्राउ परेपछि शेरचनमाथि पनि ‘पक्राउको तरबार’ झुण्डिएको थियो र उनी कुनै पनि बेला पक्राउ पर्न सक्ने अडकलवाजी बैंकिङ क्षेत्रमा चलिरहेको थियो । नभन्दै उनी आइतबार पक्राउ परे ।
प्रभु म्यानेजमेण्टमा भएको भनिएको ९८ करोड घोटाला प्रकरणमा उक्त कम्पनीकी अध्यक्ष कुशुम लामाले दिएको जाहेरीको आधारमा भट्टचन पक्राउ परेका थिए । केही दिनको हिरासत बसाईपछि उनी अहिले धरौटीमा रिहा भएका छन् । र, त्यही प्रकरणको छानविनको क्रममा शेरचन पक्राउ परेका छन् ।

यो प्रकरणको वास्तविकता के होला ? त्यसमा शेरचन वा भट्टचनको भूमिका कति होला ? पक्राउ परेका शेरचनको हिरासत (वा जेल) बसाई कति होला ? त्यो सबै प्रहरी अनुसन्धानबाट खुल्नेछ । छानबिनको क्रममा पक्राउ परेकै आधारमा कसैलाई सम्पूर्णरुपमा दोषी भन्नु गलत हुन्छ भने निर्दाेष नै भनेर ठोकुवा गर्न पनि कसैले सक्दैन, गर्न मिल्दैन पनि । त्यस्तो गर्नु प्रहरीको अनुसन्धानमाथि अविश्वास गर्नु मात्र हुँदैन, सम्वन्धित व्यक्तिलाई लगाइएको अभियोग प्रति आग्रही वा पूर्वाग्रही हुन्छ । प्रहरी अनुसन्धान पुरा नहुँदासम्म यसबारेमा कुनै दृष्टिकोण बनाउनु उचित हुँदैन ।
शेरचनको सन्दर्भमा यहाँ उठेको प्रश्न के हो भने अब उनको बैंकिङ र उनले भरखरै शुरु गर्न खोजेको राजनीतिक ‘क्यारियर’ के होला ?
किनकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका व्यक्तिहरुले समय क्रममा अदालतबाट सफाई पाएर पुरानै वा त्यो भन्दा माथिल्लो हैसियतमा पुगेका धेरै घटनाहरु छन् । जस्तो कि नेपाल राष्ट्र बैंकका तीन जना गभर्नरहरु कल्याण विक्रम अधिकारी, कुलशेखर शर्मा र विजयनाथ भट्टराई त्यसको उदाहरण हुन् । तीनै जनालाई अख्तियारले भ्रष्टाचारको मुद्दा चलायो तर पछि अदालतले सफाई दियो र उनीहरु पूर्ववतः अवस्थामा फर्किए । भ्रष्टाचारको मुद्दा लागे पनि उनीहरुलाई कसैले पनि भ्रष्ट भनेर औंला उठाउन सक्दैनन् । बरु उनीहरुलाई नेपालको अर्थ प्रशासनको आदर्श पात्रको रुपमा अहिले पनि सरोकारवाला सबैले श्रद्धा गर्ने गर्छन् । शर्मा त केही वर्ष अगाडि ट्रान्सपरेन्सी इण्टरनेशनल जस्तो भ्रष्टाचार र सुशासनको लागि काम गर्ने संस्थाको अध्यक्ष नै भएका थिए ।
यो त अख्तियारले दायर गरेको मुद्दाको प्रसंग भयो, नेपालमा ठगी प्रकरणमा पक्राउ परेपछि फेरि पुरानै हैसियत कायम गर्न लगभग असम्भवः प्राय छ । चाहे त्यो राजनीतिक होस् वा बैंकिङ प्रहरीले ठगी वा आर्थिक अपचलनको आरोपमा पक्राउ गरिसकेपछि त्यस्तो व्यक्ति पुरानै शान सौकतपूर्ण हैसियतमा फर्किएको घटना सम्भवतः पाउन सकिदैन ।
यस्तो अवस्थामा शेरचन अपवाद होलान् ? उनी साँच्चै इमान्दार नै प्रमाणित भएर ससम्मान रिहा भएपनि समाजले त्यसलाई सहजरुपमा स्वीकार गर्ला ? अनि उनले मदन भण्डारी फाउण्डेशन मार्फत शुरु गर्न खोजेको राजनीतिले गति लिन सक्ला ? त्यो भने अहिलेलाई कसैले भन्न सक्दैन ।
प्रभु फाइनान्सको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि नै बेलायतमा पढ्दा पढ्दै नेपाल फर्किएका शेरचनकै योजनामा उक्त फाइनान्स वाणिज्य बैंक मात्रै बनेन, तत्कालिन किस्ट बैंक, ग्राण्ड बैंक, सेन्चुरी बैंकलगायतका वाणिज्य बैंकहरुलाई नै आफूमा समाहित गर्दै देशकै सबैभन्दा ठूलो मध्येको एउटा वाणिज्य वाणिज्य बैंकको सिईओ बनेका थिए । संयोग नै मान्नु पर्छ प्रभुमा मर्ज भएका मध्ये किस्ट बैंकका तत्कालिन सिईओ कमल ज्ञवाली, सेन्चुरी बैंकका तत्कालिन सिईओ मनोज न्यौपाने –मर्ज पछि प्रभु बैंकको डिसिईओ पछि ठगी प्रकरणमा समातिनै शेरचन वाणिज्य बैंकका तेस्रो सिईओ भएका छन् ।
शेरचन पक्राउ प्रकरणको पटाक्षेप जसरी होस्, वाग्लुङ रैथाने भएकोले पनि हुनुपर्छ उनले नेपालको स्याउ उत्पादन बढाउन, त्यसको बजारीकरण गर्न निकै महत्वपूर्ण योगदान पुर्याएका थिए । त्यसले नेपालको कृषि क्षेत्रलाई भने एउटा धक्का दिएको मान्नु पर्छ ।