अहिलेसम्म एभरेष्ट, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, ग्लोबल आईएमई, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, लक्ष्मी सनराइज, एमएबी र नेपाल एसबीआई गरी ११ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् भने कुमारी बैंकले लाभांश नदिने घोषणा गरिसकेको छ। अब बाँकी ७ वटा बैंकमध्ये नबिल र प्रभु बैंकले मात्रै लाभांश दिन सक्छन्। नबिल बैंकले १७.६४ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता छ भने प्रभु बैंकले ४.४४ प्रतिशत लाभांश दिन सक्छ।
कुन बैंकले कति दियो लाभांश
वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र सानिमा बैंकले यसपटक नगद लाभांश मात्रै दिएका छन् भने लक्ष्मी सनराइज र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगन्य नगद बाहेक बोनस शेयर मात्रै दिएका छन्।
वाणिज्य बैकमा अहिलेसम्म सबैभन्दा धेरै एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरेर २० प्रतिशत लाभांश बाँडेको छ भने सबैभन्दा कम सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद, कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरेर १३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत, एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन्। त्यस्तै नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ९ प्रतिशत लाभांश घोषणा गरेका छन्।
६ बैंकले दिन सक्दैन लाभांश
कुमारी बैंकले सार्वजनिक रुपमा गत वर्षको नाफाबाट लाभांश दिन नसक्ने घोषणा गरिसकेको छ। कुमारी बैंकको वितरणयोग्य नाफा प्रति शेयर नाफा नै १० रुपैयाँ ६५ पैसाले ऋणात्मक रहेको छ भने बैंकको खराब कर्जा समेत ६.४२ प्रतिशत रहेको छ।
त्यस्तै हिमालयन बैकको खराब कर्जा ७.२८ प्रतिशत तथा वितरयोग्य प्रति शेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा हुँदा हिमालयन बैंकले पनि लाभांश दिन सक्दैन। त्यस्तै नेपाल बैंकको खराब कर्जा ४.४७ प्रतिशत भए पनि वितरयोग्य प्रति शेयर आम्दानी ३.०६ रुपैयाँ ऋणात्मक रहेको हुँदा लाभांश बाँड्न सक्दैन।
आक्रमक कर्जा विस्तारमा रहेको एनआईसी एसिया बैंकको खराब कर्जा ६.२८ प्रतिशत र प्रति शेयर वितरणयोग्य नाफा ३४ रुपैयाँ ९४ पैसाले ऋणात्मक रहेको हुँदा एनआईसी एसियाले समेत लाभांश दिन नसक्ने अवस्थामा छ। पूर्वसीईओले राजीनामा दिएपछि बैंकले हालै नबिल बैंकका डेपुटी सीइओ सुजित शाक्यलाई सीईओ बनाएको छ।
मेगा बैंकसँग मर्जर पछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि प्रदर्शन लगातार खस्किरहेको छ। विगत दुई वर्षदेखि बैंकले लाभांश दिन सकेको छैन्। वितरणयोग्य प्रति शेयर आम्दानी १ रुपैयाँ ४४ पैसा भए पनि खराब कर्जा ५.८५ प्रतिशत रहेको हुँदा बैंकले समेत लाभांश दिने अवस्था छैन।
त्यस्तै प्राइम कमर्सियल बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी १४.३३ प्रतिशत रहे पनि चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खराब कर्जा ५.५६ प्रतिशत रहेको हुँदा सम्भवत लाभांश वितरण गर्ने छैन। लेखा परिक्षण भएको वित्तीय विवरणमा खराब कर्जा ५ प्रतिशतभन्दा कम देखिएमा प्राइमले भने लाभांश बाँड्न सक्ने सम्भावना भने छ।