६१ मेगावाटको नारखोलाको वित्तीय व्यवस्थापन जुट्यो, कुमारी बैंकको अगुवाइमा साढे ९ अर्ब लगानी

Dec 01, 2025 02:11 PM merolagani



सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजना निर्माणका लागि सोमवार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मनाङ्स्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरि ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत आयोजना निर्माण गरिनेछ । आयोजनाको प्रबर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।


नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र बार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले वार्षिक २ अर्ब १० करोड रुपैयाँको विद्युत विक्री गर्नेछ । ६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन् । आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको रहनेछ ।

आयोजनाको बाँधका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ ।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा ९ अर्ब ६३ करोड रुपैयाँ र स्वपुजी ३ अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ । स्वपूँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।