यस अघि धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर १५ लाख कायम गरिने भएको छ। “लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिनेछ” समीक्षामा उल्लेख छ। बढाइएको सीमाले लघुवित्तलाई निक्कै ठूलो राहत मिल्ने लघुवित्त कर्मीहरूको भनाई छ।

सबैभन्दा पहिले बैंक र ठूला वित्तीय संस्था पुग्नु नसक्ने ठाउँ वा कम–आय भएका नागरिकलाई वित्तीय पहुँच दिलाउन यसले ठूलो मद्दत गर्ने छ। जसले वित्तीय समावेशीकरणको प्रभाव बढाउने छ। अर्को तर्फ यस अघि धेरै सदस्यहरूले ७ लाखको सीमाले गर्दा थप ऋण लिन नपाएको अवस्था थियो। जसले थप ऋण लिएर काम गर्ने वातावरण बनाउने छ। थप ऋण लिएर काम गर्ने वातावरणको अतिरिक्त त्यसले यस अघिको ऋण तिर्न पनि सहयोग गर्ने बताइएको छ। “ऋणको सीमा बढ्दा ऋण तिर्ने क्षमता पनि बढाउने छ,” लघुवित्तकर्मी विश्व प्रसाईंले मेरो लगानीसँग भने।
प्रसाईंका अनुसार यस अघि एउटै व्यक्तिले धेरै वटा लघुवित्तसँग ऋण लिएको अवस्था थियो। नेपाल राष्ट्र बैंकले पछिल्लो समय एक व्यक्तिले एक लघुवित्तबाट मात्रै कारोबार गर्ने पाउने भनिदियो। जसले गर्दा ऋणीले धेरै लघुवित्तबाट लिएको ऋणको किस्ता तिर्ने क्षमता एकाएक घटाइदियो। किनकि एक व्यक्तिले अर्को लघुवित्तबाट ऋण लिँदै भएपनि किस्ता तिर्दै आइरहेका थिए। तर अर्कोबाट ऋण लिन नपाउने भन्ने बित्तिकै ऋणीको स्रोत स्वाट्टै बन्द भयो। उसले जति पनि संस्थाबाट ऋण लिएको थियो। उसले कसैको पनि किस्ता नियमित गर्न सकेन। एक व्यक्ति किस्ता तिर्न नसक्ने अवस्थामा पुग्दा त्यो व्यक्तिले कारोबार गरिरहेका सबै संस्थामा त्यसले असर गर्यो। जसले गर्दा धेरै लघुवित्तका ऋण खराब ऋणमा परिणत हुन पुगे। यस अघि ऋण लिने व्यक्तिले थप ऋण लिन सक्ने अवस्था थिएन। किनकि अधिकतम सीमाले गर्दा उसले ऋण बढाउन सक्ने अवस्था थिएन। ऋण बढाउन सक्ने अवस्था नभएकोले गर्दा थप ऋण लिएर ऋण तिर्ने र व्यवसाय पनि अघि बढाउने योजना बनाउन सक्ने अवस्था थिएन।
तर अब कुनै लघुवित्तले उसलाई १५ लाख रुपैयाँ ऋण दिए उसले पहिलेको ७ लाख रुपैयाँ चुक्ता गरेर बाँकी रहेको ८ लाख रुपैयाँले उसले व्यवसायलाई बढाउँदै लैजान सक्छ। उसले ७ लाख रुपैयाँ ऋण तिर्दा धेरै लघुवित्तको ऋण असुली हुन्छ भने जुन लघुवित्तले नयाँ ऋण दिन्छ। उसले दिएको ऋण पनि असलमा परिणत हुन्छ भने उसले नियमित किस्ता पाउँदा उसको पनि व्यवसाय राम्रो हुन जान्छ। १५ लाखको सही सदुपयोग ऋणीले गर्ने हो भने लघुवित्तमा देखिएको ऋण असुलीको समस्या धेरै हदसम्म कम हुन्छ। लघुवित्त पुनः पहिलेकै अवस्थामा फर्किन सक्छन्।
तर ऋण लिएर पुनः ऋण नै तिर्न मात्रै ऋण उपयोग हुने अवस्था सिर्जना भएमा त्यसले थप जोखिम बढाउने निश्चित छ। तर असल नियतले कसैले ऋणबाट मुक्ति र आफ्नो व्यवसाय बिस्तार गर्न चाहेको भए अहिलेको राष्ट्र बैंकको नीतिले निक्कै राम्रो प्रभाव पर्ने लघुवित्त कर्मीको भनाई छ।