सोमबार बिहान नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गरेको छ । समीक्षा मार्फत शेयर बजार सुधार र पर्याप्त रुपमा भएको तरलता परिचालनका लागि बैंकलाई दोस्रो बजारमा कारोबार गर्न थप सहज बनाउने र शेयर धितो कर्जाको सीमा अर्थात बैंकको कुल पूँजीको ४० प्रतिशतको सीमा बढाउनु पर्ने माग लगानीकर्ताको थियो । तर केन्द्रिय बैंकले उक्त दुवै विषयको सम्बन्धमा कुनै नीतिगत व्यवस्था गरेन । मौद्रिक नीतिको समीक्षाकाे प्रतिक्षामा रहेको बजारमा उत्साह नदेखिएको लगानीकर्ताहरुको भनाइ छ ।
यद्यपि मौद्रिक समीक्षाले गरेको व्यवस्थाले पनि बजारका लागि सकारात्मक पार्ने लगानीकर्ता शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले बताए । ‘नेपाल राष्ट्र बैंकले शेयर बजारका लागि धेरै सहजीकरण गरेको छ । पूँजी बजारको विषयमा गभर्नर सधै सकारात्मक हुनुहुन्छ । बजारलाई आवश्यक परे अनुसार नीतिगत व्यवस्था गर्दै आएको पाइन्छ । यसपटकको मौद्रिक समीक्षा पनि बजारलाई चलायमान बनाउने नै आएको छ,’ फुल्लेलले मेरो लगानीसँग भने ।

कहिलेकाही लगानीकर्ता धेरै महत्वकांक्षी हुँदा बजारले सकारात्मक कुरामा पनि नकारात्मक प्रतिकृया जनाएको हुन्छ । सोमबारको बजार पनि त्यस्तै हो । बजारको अपेक्षा अनुसार भएन भन्दैमा मौद्रिक समीक्षा नै नकारात्मक होइन । बजारलाई चलायमान बनाउनका लागि राष्ट्र बैंकले सन्तुलित नीति लिएको छ । यसमा लगानीकर्ता डराउनु पर्दैन । राष्ट्र बैंकले क्रमिक रुपमा थप सुधारको गर्दै जानेमा फुल्लेल आशावादी रहेका छन् । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा सूचक नकारात्मक भएको हो । आगामी कारोबार दिनमा बजार सकारात्मक लयमा नै चल्ने उनको विश्वास छ ।
मौद्रिक नीतिले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको व्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेको छ । साथै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिएको छ । उक्त व्यवस्थाले बैंकको ब्याजदर अझै घट्ने र बजारमा तरलता परिचालन हुने नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको बुझाई छ ।
त्यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिने, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले लघुवित्त कम्पनीहरुलाई धेरै राहत मिल्ने पाण्डेको भनाई छ ।
लघुवित्त कम्पनीको खराब कर्जाको दर घट्ने र थप पैसा ग्राहकले परिचालन गर्न सक्ने व्यवस्था भएकाले लघुवित्त कम्पनीका लागि धेरै राम्रो भएको उनको दाबी छ । मौद्रिक नीतिकै कारण बजार घट्नु पर्ने कारण थिएन । तर आजको बजारले किन्ने मौका दिएको हो । मौद्रिक नीति शेयर बजारको हितमा नै आएको पाण्डेको बुझाई छ ।
सोमबारको शेयर बजार ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा झरेको छ भने ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । समग्रमा प्रणालीमा भएको पर्याप्त तरलतालाई चलायमान गराउने नीति लिएको छ । मौद्रिक नीतिले लिएका व्यवस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शेयर बजारमा सकारात्मक असर पार्ने लगानीकर्ताहरुको बुझाई छ ।