त्यसक्रममा यस बर्षदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गरेको सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायलाई दुई सिट छुट्याइएको छ भने विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा ४ सिट छुट्याइएको छ ।
‘दुई जना विद्यार्थीलाई पढाएर कसरी विश्वविद्यालयको विज्ञान संकाय संचालन हुन सक्छ ? यसरी सिट तोक्नु भन्दा नतोकेकै भए राम्रो हुन्थ्यो । यो त तमासा भयो’ सुदूर पश्चिम विश्व विद्यालयका एक पदाधिकारीले मेरो लगानीसँग भने । उनका अनुसार २ जना विद्यार्थी मात्र पढाउँदा पनि जनशक्ति र पूर्वाधारमा पूर्ण क्षमतामा पठन पाठन गरिए जत्तिकै खर्च हुने भएकोले विश्व विद्यालयको लागि अहिले गरिएको कोटा निर्धारण निल्नु न ओकल्नु जस्तै हुने देखिएको छ ।
आयोगले आगामी शैक्षिक सत्रका लागि २ हजार ३० सिट निर्धारण गर्दा सरकारी मेडिकल कलेजलाई १ हजार ३१ सिट छुट्याइएको छ भने निजी मेडिकल कलेजले ९ सय ९९ सिट छुट्याइएको छ ।
देशभर १८ सरकारी र २७ निजी मेडिकल कलेजले पीजी तहको पठनपाठन गर्दै आएका छन् । गत वर्षभन्दा सरकारीमा केही सिट बढाइएको र निजीमा केही सिट घटाइएको आयोगले जानकारी दिएको छ ।
सरकारीतर्फ सबैभन्दा बढी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले २ सय ४५ सिटको कोटा पाएको छ। त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई २ सय ४, महाराजगन्ज क्याम्पस (शिक्षण अस्पताल) लाई १ सय १८ सिट छुट्याइएको छ ।
निजीतर्फ सबैभन्दा बढी काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालले १२७ सिट पाएको छ। चितवन मेडिकल कलेजलाई ८९, नेशनल मेडिकल कलेजलाई ८१ र काठमाडौँ मेडिकल कलेजलाई ५८ सिट छुट्याइएको छ ।