सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनाले आगामी ५ महिनामा व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनी इलेक्ट्रो पावर कम्पनी लिमिटेडका अनुसार, हालसम्म मुख्य सुरुङमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ । हाल पावरहाउसमा इलेक्ट्रो मेकानिकलअन्तर्गत उपकरण जडानलगायतका काम अघि बढिरहेको कम्पनीले जनाएको छ ।

हालसम्म आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति पूरा भएको र आगामी २०८३ बैशाखभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीले बताए ।
‘अहिले जलविद्युत् आयोजना निर्माणको काम धमाधम अघि बढिरहेको छ । हालसम्म ८५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ,’ उनले भने, ‘आउँदो बैशाखसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।’
जलविद्युत् आयोजनाको विद्युतगृह(पावरहाउस) लगायतका केही संरचना भूमिगत बनाइने छ । आयोजनाको मुख्य टनेलको वारपार छेदन(ब्रेक थ्रु) को काम २०८२ भदौ ९ मा भएको थियो ।
अध्यक्ष कार्कीका अनुसार, जलविद्युत् आयोजनाले व्यवसायिक विद्युत् उत्पादन मिति(सीओडी) तालिकाभन्दा अघि नै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नेछ । नेपाल विद्युत् प्राधिकरणले यो आयोजनालाई २०८३ असारमसान्तसम्म व्यवसायिक विद्युत् उत्पादन गर्ने समयसीमा तोकेको छ ।
तर, कम्पनीले २०८३ बैशाखभित्र नै विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखेको छ । प्रतिमेगावाट २३ करोड रुपैयाँ लागत अनुमानका आधारमा आयोजनाको कुल लागत करिब १० अर्ब लाग्ने अनुमान छ ।
हालसम्म ८ अर्ब ६० करोड रुपैयाँ आयोजना निर्माणमा खर्च भएको कार्कीले बताए । वि.सं २०८० पुसबाट निर्माण सुरु भएको उक्त आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र नबिल बैंकजस्ता वित्तिय संस्थाको ऋण लगानी रहेको छ ।
आयोजनामा सिभिलतर्फको निर्माणको जिम्मा भूगोल इन्फ्रास्टक्चर लिमिटेड, इलेक्ट्रो मेकानिकलतर्फको काम ग्लोबल हाइड्रो अष्ट्रिया कम्पनी र हाइड्रो मेकानिकलतर्फको काम डीआरएसटी कम्पनीले पाएका छन् ।
आयोजना निर्माणपछि कम्पनीले १.२ किलोमिटरको प्रसारण लाइन निर्माण गरेर शिवश्री हाइड्रोपावरमा समावेश गर्नेछ । उक्त आयोजनाको बिजुली बाह्रविसे सवस्टेशनमा जोडिएर राष्ट्रिय प्रणालीमा जोडिने छ । हाल बाह्रबिसे सवस्टेशन तयार भएकाले उत्पादित बिजुली सहजै प्रणालीमा आउने अपेक्षा गरिएको छ ।