भारतीय बजारमा नोभेम्बर २०२५ मा सवारीको बिक्री बढ्यो, कुन गाडी बढी बिक्री ? यी हुन टप टेन गाडीहरु

Dec 11, 2025 02:15 PM merolagani



भारतीय अटो बजारमा सवारी साधनको बिक्री करिब १९ प्रतिशतले बढेको छ । सन् २०२४ नोभेम्बरको तुलनामा २०२५ नोभेम्बरमा सवारी साधनको बिक्री १८.७ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष सन् २०२४ को नोभेम्बर महिनामा कुल ३ लाख ५१ हजार ५९२ युनिट सवारी बिक्री भएकोमा सन् २०२५ नोभेम्बरमा भने ४ लाख १७ हजार ४९५ युनिट सवारी बिक्री भएका हुन् ।

हालै प्रकाशित मासिक रिपोर्टअनुसार, नोभेम्बरमा सबैभन्दा बढी बिक्री हुने अग्रणी स्थानमा विभिन्न सवारीहरु रहेका छन् । जसमा टाटा नेक्सन एसयूभी बिक्रीका हिसावले अग्रणी देखिएको छ । टाटा नेक्सन गाडी नोभेम्बरमा २२ हजार ४३४ युनिट बिक्री भएको हो । अघिल्लो २०२४ नोभेम्बरको तुलनामा यो बिक्री ४६ प्रतिशतले बढी हो ।

त्यस्तै, बिक्रीका हिसावले दोस्रो स्थानमा टाटा पञ्च गाडी परेको छ । जसको बिक्री १८ हजार ७५३ युनिट रहेको छ । अघिल्लो वर्षको नोभेम्बर महिनाको तुलनामा उक्त बिक्री २१ प्रतिशतले बढी हो ।

तेस्रो स्थानमा हुन्डाइ क्रेटा एसयूभी १७ हजार ३४४ युनिट, चौथो स्थानमा महिन्द्रा स्कार्पिओ १५ हजार ६१६ युनिट, पाँचौ स्थानमा मारुती फ्रोनएक्स १५ हजार ५८ युनिट र छैठौ स्थानमा मारुती भितारा ब्रेजा १३ हजार ९४७ युनिट सवारी बिक्री भएका छन् ।

त्यस्तै, सवैभन्दा बढी बिक्री हुने सातौं स्थानमा मारुती भिक्टोरिज १२ हजार ३०० युनिट, आठौं स्थानमा किया सोनेट १२ हजार ५१ युनिट, नवौं स्थानमा हुन्डाई भेन्यू ११ हजार ६४५ युनिट र दशौं स्थानमा मारुती ग्राण्ड भितारा ११ हजार ३३९ युनिट सवारी साधन नोभेम्बर महिनामा बिक्री भएका हुन् ।