एनपीएलको चर्चा विश्वभर, यसरी बन्दैछ नेपालको पर्यटनको आधार स्तम्भ

Dec 12, 2025 11:00 AM mero lagani



झण्डै एक महिनादेखि संचालन भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उत्कर्षमा पुगेको छ । 

नेपाल बाहेक भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बेलायत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अमेरिका, न्यूजील्याण्ड, स्कटल्याण्ड, युगाण्डा, नेदरल्याण्ड, नामिबिया र वेष्टइण्डिज गरि १५ देशका साढे ३ दर्जन विदेशी खेलाडीले प्रतिस्पर्धा गरेको यो प्रतियोगिताले विश्वव्यापीरुपमा नेपाल प्रतिको आकर्षण बढाएको छ ।

यसैपनि नेपालीहरुको क्रिकेट मोहको चर्चा केही वर्ष अगाडिदेखि निरन्तर चल्दै आएको छ । नेपाली क्रिकेट टोली खेल्नको लागि विश्वका जुन जुन देशमा पुगे पनि त्यहाँ त्यहाँ नेपाली समर्थकहरु पुगेर आफ्नै विशिष्ट पहिचान झल्काउँदै आकर्षकरुपमा ‘हुटिङ’ गर्ने गर्छन् । त्यसैले विश्वका ठूला क्रिकेट खेलाडीहरु, खेल विश्लेषकहरु ‘समर्थक हुनु त नेपालका जस्ता’ भन्ने थेगो नै प्रयोग गर्ने गरेका छन् ।

गत वर्षदेखि एनपीएल शुरु भएपछि नेपालको क्रिकेटको चर्चा विश्वभर फैलिरहेको छ । पहिलो संस्करणदेखि नै नेपाली क्रिकेटलाई व्यावसायीक र अन्तर्राष्ट्रिय स्तरमा चिनायो, जसले नेपाललाई क्रिकेट आकर्षणको गन्तव्य बनाएको छ। यस्ले नेपालका स्थानीय खेलाडीलाई ग्लोबल स्तरमा प्रदर्शन गर्ने प्ल्याटफर्म दिइरहेको छ । नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच दिलाएको छ । उनीहरुलाई तालिम, विज्ञता र अन्तर्राष्ट्रिय क्रिकेट नेटवर्क विस्तारमा ठूलो मद्दत पुर्यााएको छ ।

खेलकूद सम्वन्धि समाचार दिने Outlook India, Reddit जस्ता अन्तर्राष्ट्रिय संचारमाध्यममा एनपीएलको चर्चा गर्ने गरेका छन् । एनपीएलको खेल तालिका र हरेक खेलपछिको विश्लेषण गर्ने गरेका छन् । भारत, पाकिस्तानदेखि बेलायत, अष्ट्रेलिया, बेल्जियमसम्मका समाचार माध्यमहरुले एनपीएलको बारेमा महत्वका साथ समाचारहरु दिँदै आएका छन् । विदेशी टिप्पणीकार, अन्तर्राष्ट्रिय खेलकर्मी र प्रशिक्षकहरूले एनपीएललाई विश्वकै प्रतिष्ठित खेल उत्सवकोरूपमा मान्यता दिन थालेका छन् ।

विश्वका क्रिकेटप्रेमीलाई मोबाइल र अनलाइनमार्फत सीधा खेल हेर्ने सुविधा दिएको छ, जसले डिजिटल मिडियामा एनपीएलको चर्चा बढाएको छ ।

स्टार स्पोर्टस जस्तो विश्वकै सबैभन्दा प्रभावशाली खेलकूद च्यानलहरु मध्येको एक च्यानलबाट प्रत्यक्ष प्रशारण, विश्वमै चर्चित कमेण्टेटरहरुबाट ‘लाइभ कमेण्ट्री’, युट्युव, फेसबुकलगायतका समाजिक संजालहरुमा एनपीएलका विविध पक्षको बारेमा चर्चा परिचर्चा गर्नु, एनपीएल खेल्न आएका विदेशी खेलाडीहरुले नेपालको भौगोलिक सुन्दरताको चर्चा गर्दै समाचार, टिप्पणीहरु प्रकासन तथा प्रशारण गरिरहेका छन् । र, नेपाल घुम्दाको रोमान्चकता प्रस्तुत गरिरहेका छन् । यसले गर्दा एनपीएल केवल खेल प्रतियोगितामा मात्रै सिमित भएको छैन, नेपालको पर्यटन र समग्र अर्थतन्त्रको लागि एउटा आधार स्तम्भ बनिरहेको छ ।

नेपालमा खेलकुद पर्यटनको सम्भावनालाई अन्तराष्ट्रियरुपमै स्थापित गरेको छ । र, हजारौं विदेशी खेलप्रेमी र विदेशी आगन्तुकलाई आकर्षित गरिरहेको छ । यसले होटल, रेष्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । अब नेपालको पर्यटन प्रवर्द्धन र विश्वमा नेपालको पहिचानको एउटा आधार एनपीएल बन्न सक्ने निश्चित देखिएको छ ।