'वास्तवमा संस्थागत लगानीकर्ताले शेयर खरिद गर्नु भन्दा अगाडि नै व्यक्तिगत लगानीकर्ताले किन्नु पर्ने हाे तर नेपालमा त्यसकाे विपरित गर्ने चलनछ'

Dec 13, 2025 11:08 AM Merolagani



शेयर बजार २६ सयको विन्दु माथि नै रहेर कारोबार भइरहेको छ । राजनीतिक अस्थिरताले गर्दा शेयर बजारमा लगानीकर्ताहरु सक्रिय भएर कारोबार गर्न रुचाई राखेका छैनन् ।

बजारलाई वर्षाैदेखि अप्ठ्याराेमा पारेका नीतिगत व्यवस्थालाई सहज बनाइसकिएकाे छ । लगानीयाेग्य रकम पर्याप्त छ ।

सिधा रुपमा हेर्दा शेयर बजारमा लगानी गर्नका लागि अत्यान्त उचित समय हो । तर मुलुकमा देखिएको राजनीतिक अस्थिरताले लगानीकर्ताले लगानी बढाउने हिम्मत गर्न सकेका छैनन । बजार यो विन्दु भन्दा धेरै तल झर्दैन र बजार बढेर माथि पुग्छ भन्ने अवस्था नरहेको एनआईएमबी स्टक मार्केट अर्थात ब्रोकर नं ७५ का चिफ बिजनेश अफिसर युवराज भुषालले बताए । तीनै भुषालसँग सुधा देवकोटाले गरेको कुराकानीः

बजारको समग्र सूचक सुस्त देखिन्छ अहिले किन यस्ताे  भएको हाे ?

नेप्से सूचक सँगै कारोबार रकममा समेत सुस्त भएको छ । २६ सय वरपरको विन्दुमा तीन अर्बको कारोबार भएको छ । अहिले लगानीकर्ताको मनोभावना हेर्दालाई राजनीतिक स्थिरताको पर्खाइमा छन् । आम लगानीकर्ता आगामी चुनाव समयमा हुन सक्छ वा सक्दैन भन्नेमा अन्योल छन् ।

बजारलाई चलायमान बनाउने ठूला लगानीकर्ताले लगानीको सुरक्षा खोजेका हुन्छन् । लगानीको सुरक्षा सरकारले दिने हो । अहिलेको जस्तो संक्रमणकालिन अवस्थामा सरकार नै बलियो छैन । अहिलेका अर्थमन्त्री सबै कुरामा दक्ष हुनुहुन्छ । आर्थिक सुधारका कामलाई प्रथामिकता दिएको देखिन्छ । शेयर बजारको विषयमा पनि अत्यन्त सकारात्मक हुनुहुन्छ । तरल राजनीतिक अवस्थाका कारण सरकार कहिलेसम्म भन्ने टुङ्गो छैन । लगानीकर्ताहरु चुनावपछि कस्तो सरकार बन्नेछ, त्यसले बजारको वास्तविक गति निर्धारण गर्ने छ।

शेयर बजारका लागि समग्र अवस्था सकारात्मक नै छ । बैंकमा भने जति पैसा छ । सस्तो दरमा कर्जा प्राप्त भएको छ । नीतिगत अनुकुलता बनेको छ । मात्र लगानीकर्ताहरु आगामी चुनाव र त्यसपछि बन्ने सरकारको पर्खाइमा रहेका छन् । त्यसैले बजार चलयमान भएको छैन । सुस्ताएको छ ।

यो अवस्थामा लगानीकर्ताहरु शेयर किनेर वा पैसा लिए कसरी बसेका छन् ?

अहिलेको बजार बढ्न नसके पनि घटेको छैन । बजारमा शेयरको सप्लाई आएको छैन । अहिले आएको ठूलो सप्लाई भनेको ब्रोकरको लिमिट चलाएका वा दैनिक सानो तिनो कारोबारले पनि तीन अर्ब माथिको कारोबार भएको हुन्छ । अहिले संस्थागत लगानकर्ताहरुले शेयर खरिद गरेका छन् । अहिलेको बजारमा सप्लाई भएर घटेको बजार होइन । किन्न पर्खने र भएको शेयर बिक्री नगरी लिएर बसेको देखिन्छ । बजार चलायमान हुनका लागि ठूला लगानीकर्ताको लगानी बढ्नै पर्छ । राजनीतिक अस्थिरता र लगानीको सुरक्षा चाहेकै कारण ठूला लगानीकर्ता पर्खेर बसेको देखिन्छ । यो सूचकमा देखिएको क्षणिक हो । आगामी चुनावको मिति नजिदै छ । त्यसपछि त बजारले राम्रो गति लिनेमा कुनै शंकै छैन ।

तपाईहरुले लगानीकर्ताले मागेको लगानी सम्बन्धि सल्लाहामा के कुरा सुझाउने गर्नु भएको छ ?

लगानीकर्ताको धारणा बुझ्दा २६ सय भन्दा तल्लो विन्दुको बजारको विषयमा परिकल्पना गरेको पाइदैन । पछिल्लो तीन-चार दिनदेखि २६ सयको वरपरनै बजार छ । सूचकमा दबाब भएकाे छ भने सप्लाई घटेको छ । लगानीकर्ताहरु किन्नका लागि तयार भएका छन् । त्यसका लागि अरु केही अनुकुलता नमिलेकै कारण सूचक स्थिर छ ।

हाम्रो बुझाई कारोबार रकम घट्यो भने बजार प्रति नकारात्मक धारणा बनाउने परिपटी छ । तर सधै कारोबार रकम घट्नु नराम्रो होइन । बजारमा तल्लो विन्दुमा राम्रो खरिद भएको छ । तर सप्लाई छैन । यसले यो भन्दा तल्लो विन्दुमा बजार झर्दैन भन्ने बुझाउछ । तर बजार तत्काल बढेर माथिल्लो विन्दुमा जान्छ भन्ने पनि देखिदैन । यसरी एउटै विन्दुमा टिक्न सक्यो भने केही सहज परिस्थिति बन्नासाथै बजारले गति समाउने छ ।

राजनीति बाहाना भयो । तर बजारमा सम्भावना प्रसस्तै छ भनिन्छ । यस्तो अवस्थामा पनि किन संस्थागत लगानीकर्ता लगानी बढाउन डराइ राखेका छन् ?

सबै संस्थागत लगानीकर्ता अनुकुलता पर्खेर बसेका छैनन । जस्तो म्यूचुअल फण्डहरुले खरिदलाई जोड दिएका छन् । बैंकहरुले आक्रमक रुपमा खरिद गर्न सकेका छैनन् । त्यसमा केही अन्योलताहरु रहेका छन ।

 

मुख्य कुरा जेनजीको आन्दोलन पनि संस्थागत लगानीकर्ताको मनोबल खस्केको देखिन्छ । सो आन्दोलनमा धेरै सार्वजनिक तथा निजी क्षेत्रमा क्षति पुगेको छ । नेपालमा ठूला उद्योगी तथा व्यापारीहरुलाई दलालीको रुपमा हेरिने गरेको देखिन्छ । व्यापारीहरु प्रतिको दृष्टिकोण नकारात्मक बनाउनु नै गलत हो । कसैले ठूलो जोखिम लिएर लगानी गरेका हुन्छन् । यस्तो बेला ठूला लगानीकर्ताले नाफा भन्दा पनि सुरक्षा चाहेका हुन्छन् । लगानीको सुरक्षा नै छैन । जसले जोखिम अझै देखेको छ भने उसले लगानी गर्दैन । लगानी सुरक्षाकै कारण पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेका छन् ।

संस्थागत लगानीकर्ताले किनिसकेपछि वा किन्नु अघि कस्तो बेला व्यक्तिगत लगानीकर्ताले शेयर किन्ने ?

वास्तवमा व्यक्तिगत लगानीकर्ताले संस्थागत लगानीकर्ताले भन्दा पहिले शेयर किनेर बस्यो भने आफ्नो शेयर बिक्री गर्न पनि सजिलो हुने थियो । तर नेपालमा त्यसको विपरित हुन्छ । ठूला लगानीकर्ताले शेयर एक्युमुलेसन  गर्दासम्म पर्खेर बस्ने र बिक्री गर्ने समय भएपछि बल्ल व्यक्तिगत लगानीकर्ताले किन्ने गरेका छन् । बजारमा ठूलो चहलपहल देखिन थालेपछि मात्रै लगानी गर्ने गरेका छन् । अनि मात्रै व्यक्तिगत लगानीकर्ताको सक्रियता बढ्ने गरेको छ ।

दोस्रो बजार हो । जोखिम जुनसुकै समयमा हुन्छ । हातमा पैसा लिएर बसेका लगानीकर्ताले अहिलेको बजारमा लगानी गर्नु अत्यान्त राम्रो हो । तर अधिकांशले संस्थागत लगानी आउन थालेपछि मात्रै लगानी गर्ने राणनीति बनाएर बसेको देखिन्छ ।

 

सामान्यतया हाम्रो बजारमा दीगो लगानीकर्ता र ट्रेडरको रुपमा बर्गिकरण गरेका पाइन्छ । दीगो सोच बनाउने लगानीकर्ताले घटेको बजारमा शेयर किनेर बसेको हुन्छ । व्यक्तिगत ट्रेडरहरुले सानो सानो कारोबार आक्रमण रुपमा गर्छन । त्यस्ता लगानीकर्ता बजारको उतारचढाबलाई नियालेको हुन्छ । उनीहरुले बजारमा मुभमेन्ट नआएसम्म लगानी गर्दैनन्। यस्ता लगानीकर्ता धेरै नाफा पर्खेर बस्दैनन् । बजारको उतारचढाबसँग ट्रेडिङ रणनीति बनाएको हुन्छ । यस्तो कारोबारले सूचकलाई गति दिँदैन । तर ठूला लगानीकर्ताले समग्र बजारको गतिलाई हेर्छ । कम्पनीको अवस्था अध्ययन गर्छ । अनि मात्रै लगानी गर्छ । यसले धेरै नाफा खोज्दैन तर सुरक्षा खोज्छ । ती लगानीकर्ताले सुरक्षा महसुस गर्न सकेका छैनन ।

अन्य ब्रोकर भन्दा बैंकका सहायक कम्पनी ब्रोकरमा भुक्तानी के कसरी हुन्छ र लगानीकर्ता के कस्तो सेवा सुविधा पाउँछन् ?

सामान्यतया दुवै थरिका ब्रोकरमा खासै ठूलो भिन्नता छैन । उनीहरुले आफ्नो क्षमता आनुसारको व्यवसायमा जोड दिने हो । तर बजार र लगानीकर्ताको मनोभावना अध्ययन गर्दा अन्य ब्रोकर कम्पनीको भन्दा बैंकका ब्रोकरमा गुनासो कम छ । समयमा पैसा नपाएको गुनासो कम छ । उनीहरु कर्पोरेट अभ्यासमा काम गरेका हुन्छन । उनीहरुले नाफालाई भन्दा पनि विश्वासलाई जोड दिएर कारोबार गराउँदै आएका छन् ।

यसमा ब्रोकरले दिने सेवाहरुको विषयमा कुनै स्पष्टता छैन । सबै प्रकृतिका ब्रोकरलाई एकै प्रकारको काम गर्ने व्यवस्था गरिएको छ । अहिले ब्रोकरहरुले मार्जिन कारोबार गराउन सके भने पनि बजार चलायमान हुनेछ । ब्रोकरसँग भएको पैसा समेत परिचालन गर्न सकिएको छैन । यहाँ क्षमता नभएर भन्दा पनि स्पष्ट व्यवस्था नभएका कारण ब्रोकरले लगानीकर्तालाई दिने सेवा कम भएको छ ।

बाँकी भिडियोमाः