जेनजी आन्दोलनमा भएकाे क्षतिबापत अहिलेसम्म ४ अर्ब ३८ करोड भुक्तानी, सिद्धार्थ प्रिमियरले धेरै भुक्तानी गर्दा राष्ट्रिय बीमा कम्पनीको शून्य

Dec 14, 2025 02:53 PM Merolagani



जेनजी आन्दोलनमा भएको तोडफोडको क्षति दाबी गर्नेहरुलाई निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न ३३ सय बीमा दाबी आवेदनबाट २३ अर्ब ४४ करोड रुपैयाँको क्षति माग भएपनि ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै दाबी भुक्तानी भएको हो ।

तथ्यांक अनुसार अहिलेसम्म सबैभन्दा बढी दाबी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ । सिद्धार्थ प्रिमियरमा ४ सय ७६ बीमा दावी आवेदनबाट ५ अर्ब ५३ करोड ५६ लाख रुपैयाँको बीमा दाबी परेकोमा अहिलेसम्म १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।

त्यस्तै शिखर इन्स्योरेन्सले २ अर्ब ४० करोड ५८ लाख रुपैयाँको बीमा दाबीमा ७१ करोड ११ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले २ अर्ब ८० करोड ९७ लाख रुपैयाँको बीमा दाबीमा ६६ करोड १ लाख रुपैयाँको भुक्तानी दिइसकेको छ । यता सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँका बमिा दाबीमा २० करोड ९९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब २० करोडको बीमा दाबीमा २२ करोड ५९ लाख रुपैयाँ बराबरको भुक्तानी दिइसकेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ६७ लाख, एनएलजी इन्स्योरेन्सले १७ करोड २७ लाख रुपैयाँ तथा नेपाल इन्स्योरेन्सले १८ करोड ४ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको छ।

 

दि ओरियन्टल इन्स्याेरेन्सले ९ करोड १२ लाख रुपैयाँ, सानिमा जीआईआई इन्स्योरेन्सले ८ करोड ८१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ५ करोड २० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० लाख, नेसनल इन्स्योरेन्सले २७ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५२ लाख १८ हजार, स्टार माइक्रो इन्स्योरेन्सले ३ लाख १५, ट्रस्ट माइक्रो इन्स्योरेन्सले २९ लाख ८३ हजार र नेपाल माइक्रो इन्स्योरेन्सले २२ लाख ९४ हजार रुपैयाँ भुक्तानी दिएका छन् । १८ वटा निर्जीवन बीमामा अहिलेसम्म कुनै पनि रकम भुक्तानी नगर्ने कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ६९ लाख रुपैयाँ बराबरको दाबी परेको थियो ।

बीमालेख अनुसार सबैभन्दा बढी सम्पत्ति बीमा गर्नेहरुले ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ भुक्तानी पाएका छन् भने दोस्रोमा मोटर बीमा गर्नेले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ भुक्तानी पाएका छन् । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा गर्नेले ६ करोड ८१ लाख रुपैयाँ भुक्तानी पाउँदा परिवहन बीमा गर्नेले ६६ लाख ३८ हजार र अन्य बीमा गर्नेले ४९ लाख ४५ हजार रुपैयाँ भुक्तानी पाएका छन् ।

प्रदेश अनुसार सबैभन्दा धेरै भुक्तानी बागमती प्रदेशमा ३ अर्ब ११ करोड १५ लाख रुपैयाँ भएको छ भने कोशी प्रदेशमा ६६ करोड ४८ लाख रुपैयाँ भुक्तानी भएको छ । गण्डकी प्रदेशमा ३० करोड ५७ लाख, लुम्बिनीमा १२ करोड ७७ लाख रुपैयाँ, मधेश प्रदेशमा ८ करोड ६० लाख रुपैयाँ, सुदुर पश्चिममा ५ करोड ५३ लाख र सबैभन्दा कम कर्णालीमा ३ करोड ३८ लाख रुपैयाँ भुक्तानी भएको छ।