‘डबल आइजिन’ हुँदैमा टाउको दुखाउनु पर्दैन, लकइन खुलेपछि मर्ज गर्न मिल्ने, हेर्नुहोस् सिडिएससीले पठाएको निर्देशिकाको मस्यौदा

Dec 16, 2025 11:02 AM merolagani



डबल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को विषयमा टाउको दुखाउनु पर्दैन। किनकि 'लकइन' अवधिभरि डबल ‘आइजिन’ हुने भएपनि 'लकइन' सकिएपछि भने पुनः एउटै ‘आइजिन’ हुने छ।

‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ मा डबल ‘आइजिन’लाई निवेदन दिएर पुनः एउटै बनाउन सक्ने व्यवस्था छ। तर एउटै बनाउनको लागि भने कम्पनीले निवेदन सहित विभिन्न प्रमाण समेत पेस गर्नु पर्ने व्यवस्था निर्देशिकामा  छ।

निर्देशिकामा आइजिन सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थामा सङ्गठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्ने निर्देशिकामा भनिएको छ। तर सङ्गठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको शेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण शेयर समूहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्ने व्यवस्था निर्देशिकामा छ।

निर्देशिकाको व्यवस्था अनुसार निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिइएको छ। तर उक्त कम्पनीको शेयर लकइन अवधिमा रहेको भए त्यस्ता धितोपत्रलाई निर्देशिका लागु भए पश्चात् फरक फरक आइजिन प्रदान गरिने छ।

प्राथमिक निष्कासन भएका शेयरहरू सुरुवाती चरणमा अभौतिकीकरण गर्दा ‘डबल आइजिन’ हुने भए पनि लक इन अवधि सकिएपछि भने त्यसलाई पुनः मर्जर गराउन सकिने छ। त्यसको लागि निर्देशिकामा आइजिन मिश्रण गर्न सकिने सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थामा “कुनै धितोपत्रलाई फरक फरक आइजिन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने देखिएमा सम्बन्धित सङ्गठित संस्थाको अनुरोधमा सिडिएससीले आवश्यकता अनुसार प्रदान गरिएको आइजिन मिश्रण (मर्जर) गर्न सक्नेछ,” भनिएको छ।

तर त्यसको लागि कम्पनीले निवेदनका साथ केही प्रमाण समेत पेस गर्नु पर्ने छ। 'आइजिन'मा मिसाउने सम्बन्धमा सम्बन्धित सङ्गठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि, धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तीमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण, धितोपत्र मिश्रण गराउने सम्बन्धमा बोर्डको सहमतिको प्रमाण, धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण, प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित सङ्गठित संस्थाको स्वघोषणा निवेदनका साथ पेस गर्नु पर्ने छ।

जसले अहिलेको जस्तो गरी लकइन अवधि सकिएको भोलिपल्टैबाट संस्थापक शेयर दोस्रो बजारमा बिक्री गर्न भने पाइने छैन। आइजिन मर्जरको लागि दिएको निवेदन स्वीकृति प्रक्रिया सकिएपछि मात्रै दोस्रो बजारमा संस्थापकले शेयर बिक्री गर्न सक्ने छन्।

तर सिडिएससीले पठाएको निर्देशिका अझै स्वीकृत भएको छैन। धितोपत्र बोर्डले समयमा नै 'आइजिन'को लफडा नसल्टाइदिएका कारण संस्थापकको खातामा शेयर जान सकेको छैन। 'आइजिन'को लफडाले गर्दा पछिल्लो समय जारी भएका प्राथमिक निष्कासनका संस्थापक शेयर खातामा जान नसकेका हुन्। गत आर्थिक वर्षको चैत महिना देखि नै कुनै पनि कम्पनीको संस्थापक शेयर डिम्याट खातामा गएका छैनन्।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत नगरिदिएका कारण कुनै पनि कम्पनीको शेयर खातामा नगएको सिडिएससीले जनाएको छ। “हाम्रो साउन ११ गते आइतबार बसेको बोर्ड बैठकले निर्देशिका पारित गरेर स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको छौ। उक्त निर्देशिका नआएको कारण ती कम्पनीको शेयर खातामा पठाउन नसकिएको हो,” सिडिएससीका एक उच्च अधिकारीले मेरो लगानीसँग भने।

कुनै पनि कम्पनीको संस्थापक शेयर र पब्लिक शेयरको आइजिन फरक फरक हुनुपर्छ भनेर निर्देशिकामा उल्लेख छ। निर्देशिका स्वीकृत भएर नआउन्जेल पठाउनै नसकिने तर्क सिडिएससीको छ। “कुनै पनि कम्पनीको संस्थापक र पब्लिक शेयरको फरक फरक आइजिन हुने व्यवस्था निर्देशिकामा छ। जसले गर्दा उक्त निर्देशिका नआएसम्म खातामा पठाउनै सकिँदैन,” ती अधिकारीले भने।

बोर्डले निर्देशिका स्वीकृत गरे लगत्तै सबै कम्पनीको संस्थापक शेयर  खातामा पठाइने सिडिएससीको भनाई छ। अहिले १५ कम्पनीको संस्थापक शेयर खातामा जान बाँकी छन्।

यस अघि संस्थापकले लकइन अवधि अघि नै शेयर बिक्री गर्ने अवस्था सिर्जना हुन थालेपछि त्यसलाई निस्तेज गर्न भन्दै सिडिएससीले डबल 'आइजिन'को अवधारणा अघि सारेको थियो। जसको चर्को विरोध हुँदै आएको छ। खासगरि विद्युत् उत्पादकहरूको छाता सङ्गठन “इप्पान”ले 'डबल आइजिन'को विरोध गर्दै आइरहेको छ।

डबल आइजिन कै कारणले गर्दा इमर्जिङ् नेपालको 'लकइन पिरियड' सकिए पनि संस्थापक शेयर कारोबारमा आउन सकेको छैन। निर्देशिका आए लगत्तै कम्पनीको लफडा पनि समाप्त हुने छ।

धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ को मस्यौदा हेर्नुहोस्