साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लक्ष्मी सनराइजको १० प्रतिशत र कालिञ्चोक (KDL) को ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको शेयरमूल्य २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ भने कालिञ्चोकको ८६० रुपैयाँ ९५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा लक्ष्मी सनराइज बैंकको शेयर प्रतिकित्ता २३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने कालिञ्चालकको प्रतिकित्ता ९०४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
लक्ष्मी सनराइज बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै, कालिञ्चोक दर्शनले पुस १५ गते, मंगलबार, बद्रीनाथ होटल, गौशाला, काठमाडौँमा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।