डलरको मूल्य बढ्दा नेपाललाई प्रत्यक्षरुपमा ४४ अर्बभन्दा धेरै घाटा, बैदेशिक ऋणको ब्याजदरका कारण थला पर्दै नेपाली अर्थतन्त्र

Dec 16, 2025 02:51 PM mero lagani



केही महिनादेखि निरन्तर बढिरहेको अमेरिकी डलरको बिक्री दर सोमवार एक डलर बराबर १४४.९७ नेपाली रुपैयाँ पुगेको छ । योसँगै नेपालले तिर्नुपर्ने वैदेशिक ऋणको ब्याजदर पनि उच्चरुपमा बढ्दै गएको छ । 

फललस्वरुप नेपाललाई ब्याजको लागि मात्रै सवा ४४ अर्ब अतिरिक्त तिर्नु पर्ने वाध्यता आइलागेको छ ।

अर्थमन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार नेपालको पछिल्लो कुल ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। त्यसमध्ये विदेशी ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ भने बाँकी आन्तरिक ऋण रहेको छ ।

 

नेपालले लिने विदेशी ऋण केही मात्रामा युरो, चिनियाँ युआन, जापानी यन तथा ब्रिटिश पाउन्डमा लिने गरे पनि अधिकांश अमेरिकी डलरमै लिइन्छ । युरो, चिनियाँ युआन, जापानी यन तथा ब्रिटिश पाउन्डको मूल्य पनि डलरकै मूल्यबाट प्रभावित हुने भएकोले अन्य देशका मुद्राबाट लिएको ऋणको तुलनामा डलरको असर धेरै पर्ने गरेको छ । ऋण सम्झौता हुँदाको बेलाको डलरको मूल्यको आधारमा ब्याजदर तोकेर लिइन्छ । जब अमेरिकी डलरको मूल्य घटबढ हुन्छ, तब तिर्नु पर्ने ब्याज पनि तलमाथि पर्छ ।

जस्तो कि पाँच वर्ष अगाडि एक डलरको भाउ ११८ रुपैयाँ थियो । त्यतिबेला गरिएको ऋण सम्झौतामा त्यही मूल्यमा ब्याज तिरिन्थ्यो । तर, अहिले १४४.९७ रुपैयाँको दरले ब्याज तिर्नुपर्छ । त्यसले गर्दा स्वभाविकरुपमै नेपालले उच्च घाटा बेहोर्नु पर्ने भएको छ ।

अर्थमन्त्रालयका अधिकारीहरु डलरको मूल्य बढेकै कारण तोकिएको ब्याज अतिरिक्त ४४ अर्ब २२ करोड रुपैयाँ तिर्नु पर्ने देखिएको बताउँछन् । ‘तिर्नु पर्ने डलर त उति नै हो, तर डलरको मूल्य बढ्दा नेपाली रुपैयाँ भने अति धेरै पर्न गएको छ । डलरको मूल्य अझै बढ्ने अवस्था देखिएकोले त्यो घाटा पनि बढ्ने देखिएको छ,’ अर्थमन्त्रालयका एक अधिकारीले मेरो लगानीसँग भने । उनकाअनुसार डलरको मूल्य घट्यो भने ब्याजको घाटा पनि कम हुनेछ । तर, अहिलेको लागि त्यस्तो सम्भावना देखिएको छैन । 

स्मरण रहोस् अर्थमन्त्रालयले यो वर्ष साढे १५ अर्ब रुपैयाँ ब्याजसहित बाह्य ऋण तिर्न रु ६७ अर्ब रुपैयाँ मात्रै छुट्ट्याइएको छ। त्यसमध्ये कात्तिक मसान्तसम्मा १९ अर्ब २५ करोड रुपैयाँ तिरेको अर्थमन्त्रालयले जानकारी दिएको छ।

 

 

अहिले नेपालको कुल ऋण दायित्व देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को झन्डै ४५ प्रतिशत पुगेको छ, जसमा बाह्य ऋण दायित्व मात्रै २३ प्रतिशत नाघेको छ ।

जानकारहरु अमेरिकी डलर महँगो हुँदा नेपालको अर्थतन्त्रमा त्यसले गम्भिर असर पारिरहेको बताउँछन् । मुख्य कुरा त ऋणको ब्याज नै हो । त्यस्तै नेपालले विदेशबाट आयात गर्ने समानहरुको मूल्य पनि डलरमा हिसाब गरिने भएकोले त्यो महंगो हुनासाथ विदेशबाट आयात गरिने सामानको मूल्य पनि बढ्छ र समग्रमा नेपालमा मूल्य वृद्धि आकासिन्छ । पछिल्लो समय मंहगी बढिरहनुको मुख्य कारण नै डलरको मूल्य भएको जानकारहरु बताउँछन् । त्यस्तै नेपालीको विदेश भ्रमण, खासगरि विदेशिने विद्यार्थीको खर्च अत्यधिक बढाएको छ । डलर महँगो हुँदा हुने एउटै मात्र फाइदा नेपालबाट निकासी हुने समानको मूल्य उच्च पाउनु हो ।