२४ उद्योगले बुझाएनन् दोस्रो किस्ताबापतको बक्यौता, पुनः विद्युत् लाइन काट्ने तयारी

Dec 16, 2025 01:38 PM merolagani



ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौताको दोस्रो किस्ता तिर्न २४ वटा उद्योगले आनाकानी गर्न थालेका छन् ।

गत आइतबार नेपाल विद्युत् प्राधिकरणले दोस्रो किस्ता बुझाउनका लागि उद्योगलाई पत्राचार गरे पनि ती उद्योगहरुले महशुल बुझाउन अटेर गरेका हुन् ।

दोस्रो किस्ता तिर्ने समय आइपुगेपछि प्राधिकरणले पत्र पठाउँदा समेत ती उद्योगहरुले दोस्रो किस्ता बुझाउन सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ती उद्योगलाई सम्झाउनका लागि पुनः पत्र पठाउने तयारी गरेको छ ।

‘हामीले दोस्रो किस्ता तिर्न आउनु भनेर गत आइतबार नै पत्राचार गरेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘पुनः एक पटक सम्झाउनका लागि पत्र पठाउँछौं । त्यसपछि पनि नआए जतिबेला पनि उद्योगमा लाइन काटिन सक्छ । हामीले पत्रमा नै खुलाएका छौं ।’