सबैभन्दा धनी व्यक्ति बनेर एलन मस्कले रचे नयाँ कीर्तिमान

Dec 16, 2025 02:46 PM Merolagani



विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले नयाँ कीर्तिमान कायम गरेका छन्। ६०० अर्ब अमेरिकी डलरभन्दा बढी कुल सम्पत्ति भएका उनी इतिहासमै पहिलो व्यक्ति बनेका छन्।

पछिल्लो २४ घन्टामै मस्कको सम्पत्तिमा करिब १६७ अर्ब डलरको उल्लेखनीय वृद्धि देखिएको छ। उनको सम्पत्ति अचानक बढ्नुको मुख्य कारण रकेट निर्माण कम्पनी स्पेसएक्सको मूल्यमा आएको तीव्र उछाल हो। यस वृद्धिसँगै मस्कले विश्वका सबै अर्बपतिलाई धेरै फराकिलो अन्तरले पछि पारेका छन्।

ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार हाल एलन मस्कको कुल सम्पत्ति करिब ६३८ अर्ब डलर पुगेको छ। यसका कारण उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा बढीले अगाडि पुगेका छन्।

मस्कको सम्पत्ति वृद्धिले विश्वका धनी व्यक्तिहरूबीचको अन्तर झनै गहिरो बनाएको छ। सूचीमा रहेका धेरैजसो धनाढ्य प्रविधि क्षेत्रसँग आबद्ध देखिन्छन्।

एलन मस्कको आम्दानी मुख्य रूपमा उनका विभिन्न कम्पनीहरू-टेस्ला, स्पेसएक्स, एक्सएआईलगायतबाट आउने गर्छ। विशेषगरी टेस्ला र स्पेसएक्स उनको सम्पत्तिका प्रमुख स्रोत हुन्। हाल उनीसँग टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत स्वामित्व रहेको छ।

हालै स्पेसएक्सको मूल्य बढ्नु नै मस्कको सम्पत्ति उछालको मुख्य कारण बनेको छ। मस्कले टेस्लाबाट नियमित तलब लिँदैनन्, बरु उनको पारिश्रमिक कम्पनीको शेयरमा आधारित छ। पूँजी जुटाउन उनले आफ्ना टेस्ला शेयर बेच्नुको सट्टा ती शेयरलाई धितो राखेर ऋण लिने रणनीति अपनाएका छन्।