सन् २०२६ नजिकिँदै गर्दा आन्तरिक र वाह्य चुनौतीहरूका बीच अमेरिकीहरू चिन्तित देखिएका छन् । आन्तरिक रूपमा, आवास, खाद्यान्न र उपयोगिता जस्ता दैनिक लागतहरूमा बढ्दो दबाब महशुस भइरहेको छ भने श्रम बजार सुस्त बनेको छ । जसमा बेरोजगारी दर बढ्दो छ र भर्ना प्रक्रिया सुस्त छ ।
एनबीसीको हालैको रिपोर्ट अनुसार आर्थिक चिन्ताका बीच सन् २०२५ मा राष्ट्रपति ट्रम्पको अनुमोदन रेटिङमा सामान्य गिरावट आएको छ । पछिल्लो सर्वेक्षणले उनको अनुमोदन रेटिङ ४२ प्रतिशत देखाएको छ । जुन अप्रिलको तुलनामा तीन प्रतिशतले कम हो । रिपोर्टकाअनुसार अमेरिकीहरू मुद्रास्फीति र जीवनयापनको लागतलाई लिएर अझै पनि चिन्तित छन् । सन् २०२५ को अन्त्यसम्ममा अफोर्डेबल केयर एक्ट अन्तर्गतको थप अनुदान समाप्त हुने तय भएको छ । रेकर्ड समयसम्म चलेको सरकारी कामकाज बन्दका क्रममा यस विषयमा दलहरूबीच तिब्र प्रतिष्पर्धा भएपनि हालका हप्ताहरूमा कुनै प्रगति देखिएको छैन । यसको अर्थ नयाँ वर्षमा २ करोडभन्दा बढी मानिसले आफ्नो स्वास्थ्य बीमा प्रिमियममा भारी वृद्धिको सामना गर्नुपर्नेछ । यसैबीच कंग्रेसको कार्यशैलीले धेरै अमेरिकीहरूलाई निराश बनाएको छ ।
ग्यालपको हालैको सर्वेक्षणअनुसार कंग्रेसप्रति अमेरिकीहरूको अनुमोदन दर घटेर १५ प्रतिशतमा झरेको छ । सन् २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा दुई दलबीचको लडाइँ अझ उग्र हुने देखिन्छ । वाह्य रूपमा अमेरिकीहरूले धेरै व्यापारिक साझेदारहरूसँगको व्यापार विवाद, भेनेजुएलासँगको बढ्दो तनाव र व्यापक भू–राजनीतिक घर्षण लगायतका विश्वव्यापी चुनौतीहरूको सामना गरिरहेका छन् । जसले सन् २०२६ नजिकिँदै गर्दा अनिश्चितता बढाएको छ । प्यू रिसर्च सेन्टरको अघिल्लो सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीहरूले अमेरिकी व्यापारिक साझेदारहरूबाट आयात गरिने सामानहरूमा ट्रम्प प्रशासनले बढाएको भन्सार शुल्कप्रति असहमति जनाएका छन् ।
भेनेजुएलाको सन्दर्भमा, सीबीएसको हालैको सर्वेक्षण अनुसार केवल १३ प्रतिशत अमेरिकीहरूले यो दक्षिण अमेरिकी देश संयुक्त राज्य अमेरिकाका लागि ठूलो खतरा भएको विश्वास गर्छन् । सर्वेक्षणमा सहभागी ७० प्रतिशतले भेनेजुएलासँगको युद्धको विपक्षमा रहेको बताएका छन् । यस्तो पृष्ठभूमिमा धेरै अमेरिकीहरू अनिश्चित आर्थिक परिदृश्य, बढ्दो दलीय संघर्ष र अन्तर्राष्ट्रिय द्वन्द्वको जोखिमलाई लिएर चिन्तित छन् । जसले उनीहरूलाई सन् २०२६ कस्तो हुनेछ भन्ने विषयमा सशंकित बनाएको छ ।