अमेरिकी भन्सार शुल्कको दबाब र बढ्दो आन्तरिक असन्तुलनका बीच युरोप संघर्षरत

Dec 25, 2025 11:43 AM Merolagani



सन् २०२५ भर भन्सार शुल्कले युरोपको आर्थिक परिदृश्यलाई पुनः आकार दिएको छ । वाह्य धक्काको रूपमा शुरु भएको यो प्रभावले यस क्षेत्रको व्यापारिक स्थितिलाई निरन्तर कमजोर बनाउँदै आन्तरिक असन्तुलनलाई अझ फराकिलो बनाएको छ ।

अमेरिकी भन्सार शुल्कले उद्योग र आपूर्ति श्रृंखलाहरूमा नकारात्मक प्रभाव पारेपछि वर्षको शुरुवाती सामान्य सुधारका बाबजुद युरोजोनको आर्थिक गति सुस्त भएको छ । कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो तीन महिनाको तुलनामा ०.६ प्रतिशतले बढेको थियो ।

जुन दोस्रो त्रैमासिकमा ०.१ प्रतिशत र तेस्रोमा ०.३ प्रतिशतमा खुम्चिएको छ । यसले कमजोर व्यापार प्रवाह र बढ्दो अनिश्चिततालाई प्रतिबिम्बित गर्दछ । यसको सबैभन्दा गम्भीर प्रभाव यस समूहका ठूला अर्थतन्त्रहरूमा देखिएको छ । जुन लामो समयदेखि युरोपको आर्थिक वृद्धि मोडेलको केन्द्रमा रहँदै आएका थिए ।

जर्मनीका प्रमुख आर्थिक संस्थाहरूको हिउँदे प्रक्षेपणअनुसार सन् २०२५ मा जर्मनीको अर्थतन्त्र मात्र ०.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जुन प्रमुख विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा कमजोर हो । ती संस्थाहरूले कमजोर निर्यात र उत्पादनमूलक क्षेत्रको प्रतिष्पर्धात्मकतामा आएको ह्रासलाई आर्थिक वृद्धिको मुख्य बाधकका रूपमा उल्लेख गरेका छन् । फ्रान्स र इटालीमा पनि यस्तै प्रवृत्ति देखिएको छ । जहाँको सुस्त वृद्धिले युरोजोनको समग्र प्रदर्शनमा भार थपेको छ । यसको विपरीत, दक्षिणी र मध्य–पूर्वी युरोपको प्रदर्शन तुलनात्मक रूपमा बलियो देखिएको छ ।

पोल्याण्ड र स्पेन क्रमशः ३.२ प्रतिशत र २.९ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोपेली आयोगले सन् २०२५ मा युरोजोनको अर्थतन्त्र समग्रमा १.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।