त्यसैक्रममा पछिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्ररुपमा काठमाडाैं महानगर पालिकाको मेयरमा निर्वाचित भएर सनसनी मच्चाएका बालेन साह र त्यसको केही महिनामा भएको प्रतिनिधि सभाको निर्वाचनमा २० सिट जितेर अर्काे सनसनी मच्चाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका दलहरु बीचको एकता वा कार्यगत एकताको लागि केही दिनदेखि जारी दौडधुपले अर्काे तरंग सृजना गरेको छ ।

सहकारी ठगी प्रकरणमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने धरौटीमा जेल मुक्त भएदेखि नै एकातर्फ उनले दौडधुपलाई तीब्र बनाएका छन् भने अर्काेतर्फ मेयर साहले पनि पछिल्लो समय निकै सक्रियता देखाइरहेका छन् । अहिलेसम्म पार्टी राजनीतिमा नदेखिएपनि सन्ध्या खनालको नाममा निर्वाचन आयोगमा दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको देश विकास पार्टीलाई ‘बालेनको पार्टी’ मानिएको छ । त्यही पार्टीको हर्ताकर्ताको रुपमा उनले लामिछानेलगायतका वैकल्पिक राजनीतिक पार्टीका नेता र समुहहरुसँगको छलफललाई तीब्र बनाएका छन् ।
उनले ठूला दलका फरक विचार राख्ने नेताहरूसँग पनि कुरा गरिरहेका छन् । गत आइतबार र सोमबार लामिछानेसँग छलफल गरेका उनले बुधबार राती कांग्रेस नेता चन्द्र भण्डारी, जेनजी नेतृ रक्षा बम, विवेकशील साझाका नेता मिलन पाण्डे, डाक्टर भगवान कोइराला, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, कलाकार निश्चल बस्नेत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, सञ्चारकर्मी सुरज सिंह ठकुरी लगायतसँग छलफल गरेका थिए । त्यस्तै बिहीवार दिउँसो लामिछाने, बमसहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, निवर्तमान सांसदहरु डा. अमरेश सिंह, डा. सुनिल शर्मालगायतसँग गहन छलफल गरेका छन् ।
उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलगायतका नेतासँग पनि छलफल गरेका छन् । भेटघाटमा सहभागि कतिपय नेताहरुले ‘छलफल सकारात्मक रुपमा अगाडि बढेको’ बताए पनि टुंगोमा पुगिसकेको छैन । भेटघाटमा सहभागि कतिपयले भने बाहिर जे जे भने पनि रवि, बालेनदेखि कुलमानसम्मका व्यक्तिहरुले आफूलाई केन्द्रमा राख्ने र अरुको हैसियतलाई कम आँक्ने गरेकोले उनीहरुबीच पार्टी एकता वा कार्यगत एकता सोंचे जस्तो सजिलो नभएको बताउँछन् । ‘सबैलाई आफू ठूलो हुनुछ, सांसद मन्त्री, प्रधानमन्त्री हुनुछ । आफूलाई मान्य भए ठीक नभए बेठिक भन्ने मानसिकताका कारण पार्टी एकता मात्रै चुनावकै लागि कार्यगत एकता पनि सजिलो देखिएको छैन’ बिहीवार वालेनसँगको भेटमा सहभागि एक नेताले मेरो लगानीसंग भने ।
अहिले खासगरि रवि, कुलमान र बालेनबीचको व्यक्तित्वको टकरावले नै बैकिल्पक शक्ति भनिएकाहरु बीचको एकतामा भाँजो हालिरहेको विश्लेषकहरुको भनाई छ । उनीहरु आफू ‘फष्ट म्यान’ हुने शर्तमा मात्र सहकार्य गर्न तयार देखिएका छन् । साथै आउँदो चुनावमा मात्र होइन, त्यसपछिका वर्षहरुमा पनि पार्टी र सरकारको हर्ताकर्ता को हुने भन्ने हानथापको कारण एकता नभएको बताइन्छ ।
‘सिद्धान्तको त के कुरा भो र ? मुख्य कुरा पार्टी कसले चलाउने र प्रधानमन्त्री को बन्ने भन्ने विवाद हो । चुनाव नहुँदै प्रधानमन्त्रीको लागि विवाद हुनुले बैकल्पिक शक्ति भनिएकाहरु कतिसम्म पदलोलुप र आत्मकेन्द्रित छन् भन्ने स्पष्ट हुन्छ । अति आत्मविश्वास र आत्मकेन्द्रित चिन्तनले सकारात्मक परिणाम दिँदैन भन्ने कुरालाई बैकल्पिक धारका नेताहरुले महसुस गर्न सकेको देखिएन’ बालेनलाई भेटेका एक राजनीतिकर्मीले भने—म धेरै उत्साहित छैन, तर पछिल्ला राजनीतिक गतिविधिले अहिलेको लागि वैकल्पिक धारको नेता अरु कोही होइन, बालेन नै हुन् भन्ने स्पष्ट पारेको छ । सबै छलफल र बहस उनैमाथि केन्द्रित हुनु र उनको निर्णयले समग्र राजनीतिक क्षेत्रमै हलचल ल्याउने अवस्थाले त्यो कुराको पुष्टि गर्छ ।
स्मरण रहोस् निर्वाचन आयोगले जारी गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता भइसकेका छन् भने पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ। त्यसअगाडि नै राजनीतिक पार्टीहरु बीच एकताको टुंगो लगाइसकेर समानुपातिकतर्फ उम्मेदवारको समेत टुंगो लगाउनु पर्ने भएको छ । त्यहीकारण उनीहरुले राजनीतिक शक्ति आर्जनको लागि ‘अन्तिम कसरत’ गरिरहेका छन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनको लागि भने फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने निर्णय गरेको छ।
निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिनेछ।