जेनजी आन्दोलनपछि अर्थतन्त्रमा देखिएको नैराश्यता बीच पनि निर्जीवन बीमा कम्पनीको व्यापार बढ्याे

Dec 26, 2025 05:39 PM Merolagani



जेनजी आन्दोलनपछि अर्थतन्त्रमा देखिएको नैराश्यताबीच पनि निर्जीवन बीमा कम्पनीको व्यापारमा वृद्धि देखिएको छ । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको ५ महिनामा १९ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै ४ वटा लघु बीमा कम्पनीले ५ महिनामा ४९ करोड ६० लाख रुपैयाँ बराबरको बीमा प्रिमियम संकलन गरेका छन् ।

१४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवनसहित कुल १८ वटा कम्पनीले ५ महिनामा १९ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छन् ।

पोहोर मंसिरसम्म कम्पनीहरुले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। जेनजी आन्दोलन, राजावादी आन्दोलन तथा प्राकृतिक विपत्तिका बाबजुद पनि निर्जीवन बीमा कम्पनीकाे प्रिमियम संकलनमा वृद्धि देखिएको हो ।

कुल निर्जीवन व्यवसायमा सबैभन्दा ठूलो हिस्सा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रहेको छ । सगरमाथा लुम्बिनीको हिस्सा ११.३९ प्रतिशत छ भने दोस्रोमा शिखर इन्स्योरेन्सको ११.०३ प्रतिशत रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको हिस्सा ११ प्रतिशत भन्दा माथि रहँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १०.३० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको हिस्सा ९.५७ प्रतिशत रहेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको बजार हिस्सा ८ प्रतिशतको हाराहारीमा रहँदा नेको इन्स्योरेन्सको ७.३६ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको हिस्सा ६.७३ प्रतिशत तथा सानिमा जिआईसी इन्स्योरेन्सको हिस्सा ५.७३ प्रतिशत रहेको छ ।

दी ओरियन्टल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको हिस्सा ५ प्रतिशत माथि रहँदा प्रभु इन्स्योरेन्सको बजार हिस्सा ४ प्रतिशत माथि छ । नेसनल इन्स्योरेन्सको हिस्सा ३.११ प्रसितशत तथा राष्ट्रिय बीमा कम्पनीको बजार हिस्सा सबैभन्दा कम २.५३ प्रतिशत मात्रै रहेको छ ।

इन्स्योरेन्सको नयाँ पोलिसी संख्या ५.९५ प्रतिशतले बढेको छ। गत वर्ष मंसिरसम्म १२ लाख ७० हजार कुल बीम सक्रिय रहेकामा यो वर्ष सोही अवधिमा बढेर १३ लाख ४१ हजार पुगेको छ।

लघु बीमामा प्रोटेक्टिभको हिस्सा बढी

चालु आवको ५ महिनामा लघु बीमा कम्पनीहरुले ४९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा सबैभन्दा ठूलो हिस्सा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको २६.६५ प्रतिशत हुँदा दोस्रो हुँदा नेपाल माइक्रो इन्स्योरेन्सको २६.२७ प्रतिशत छ । तेस्रोमा ट्रष्ट माइक्रो इन्स्योरेन्स हुँदा स्टार माइक्रो इन्स्योरेन्समा २१.६७ प्रतिशत रहेको छ ।