एसएमइ प्लेटफर्म सम्बन्धी विनियमावली नेप्सेले साधारण सभा अघि नै स्वीकृतको लागि बोर्ड पठाउने तयारी

Dec 29, 2025 06:17 AM merolagani



सुवास निरौला

‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०८१’ कार्यान्वयन लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तयार गरिरहेको एसएमइ प्लेटफर्म सम्बन्धी विनियमावली आउने साधारण सभा अघि नै स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्ड पठाउने बताएको छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले मेरो लगानीसँगको संवादमा सो कुरा बताएका हुन्। “हामीले गर्नु पर्ने सबै काम गरिसकेका छौं। आउने बोर्ड बैठकबाट पास गरेर स्वीकृतिको लागि धिताेपत्र बोर्ड पठाउँछौ। नेप्सेको साधारण सभा अघि नै पठाउने तयारी हाम्रो छ,” चापागाईँले मेरो लगानीसँग भने।

नेप्सेले आउने पुस २९ गते आफ्नो नियमित साधारण सभा डाकेको छ।

नेप्सेले स्वीकृतिको लागि पठाएको उक्त विनियमावली बोर्डले पास गरी पठाएको एक महिनामा कार्यान्वयनमा लैजाने समेत तयारी नेप्सेले गरेको चापागाईँले बताए। “हामीले पठाएको विनियमावली स्वीकृत भएर आउन कति समय लाग्छ। त्यो अहिले नै यकिन गर्न सकिँदैन। तर बोर्डले स्वीकृत गरेर पठाएको महिना दिनमा हामी त्यसलाई कार्यान्वयन लैजान्छौ,” चापागाईँले मेरो लगानीसँग भने।   

एक वर्ष अघि नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको थियो। बोर्डले उक्त नियमावली २०८१ माघ ३ गतेबाट लागु हुने भन्दै नियमावली आफ्नो वेबसाइटमा प्रकाशित गर्‍यो। बोर्डले नियमावली मात्रै प्रकाशित गरेन, बोर्डले नियमावलीको आवश्यक कार्यान्वयनको लागि भन्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से) र सिडिएस एण्ड क्लियरिङलाई आवश्यक निर्देशन सहित पत्राचार समेत गरेको सूचनामा उल्लेख थियो।

तर उक्त निर्देशन दिएको आउने माघमा एक वर्ष पुग्ने छ। नेप्सेले निर्देशन प्राप्त गरेको ११ महिना बितिसक्दा पनि उक्त विषयलाई कार्यान्वयनमा लैजान सकेको छैन। जबकि नेप्सेले करिब ६ महिना अघि नै एसएमइ प्लेटफर्म सम्बन्धी विनियमावलीको मस्यौदा तयार गरेको थियो। सोही मस्यौदा स्वीकृतिको लागि आउने साधारण सभा अघि नै पठाउने बताइएको हो।

यस्ता छन् नियमावली भएका व्यवस्था

 नियमावली अनुसार कुनै पनि साना तथा मझौला पब्लिक कम्पनीकाे बढीमा २५ करोड चुक्ता पूँजी हुनु पर्ने छ। कम्तीमा एक करोड पूँजी भएका कम्पनीले मात्रै शेयर जारी गर्न सक्ने छन्। किनकि कम्पनी ऐनले कम्तीमा एक करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीलाई मात्रै पब्लिक कम्पनी हुन अनुमति दिन्छ। त्यस अर्थमा कम्तीमा एक करोड र बढीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीले शेयर निष्कासन गरेर पूँजी सङ्कलन गर्न सक्ने छन्।

शेयर निष्कासन गर्ने कम्पनीले कम्तीमा ३० प्रतिशत र बढीमा ४९ प्रतिशतसम्म शेयर जारी गर्न सक्ने छन्। जारी गर्न लागिएको शेयरमा पाँच प्रतिशत शेयर मर्चेन्ट बैंकर र १५ प्रतिशत शेयर संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेपछि मात्रै निष्कासन अनुमति दिने व्यवस्था छ। यदि उनीहरूले शेयर नकिनेको भएमा बोर्डले स्वीकृति दिने छैन। संस्थागत लगानीकर्ता र मर्चेन्ट बैंकरले पाएको शेयरको लक इन अवधि भने तीन वर्षको हुने छ। उनीहरूले तीन वर्षसम्म शेयर बिक्री गर्न पाउने छैनन्। तर प्राइभेट इक्युटी र भेन्चरलाई भने लक इन अवधि एक वर्ष मात्रै तोकिएको छ।

आवेदकले कम्तीमा पाँच सय कित्ताको लागि आवेदन दिनु पर्ने छ। बाँडफाँट गर्दा पनि कम्तीमा पाँच सय कित्ताले भाग जाने गरी बाँडफाँट गर्नु पर्ने छ। शेयर निष्कासन गर्ने कम्पनीले हकप्रद समेत निष्कासन गर्न सक्ने व्यवस्था नियमावलीमा छ।

कम्पनीले निष्कासन गर्ने शेयर प्रिमियम मूल्यमा समेत निष्कासन गर्न सक्ने छन्। तर त्यसको लागि भने तीन वर्षसम्म कम्पनी खुद नाफामा हुनु पर्ने छ। प्रति शेयर चुक्ता पूँजी भन्दा  प्रति शेयर नेटवर्थ बढी भएको, कम्तीमा औसत वा त्यो भन्दा बढी क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेको भए आफ्नो नेटवर्थको दुई गुणासम्म निष्कासन मूल्य तोक्न सक्ने छ। तर बेस प्राइसमा नै शेयर निष्कासन गर्ने भए क्रेडिट रेटिङ गराउनु पर्ने छैन। त्यसको छुट नियमावलीले दिएको छ।

निष्कासित शेयरको कारोबारको लागि धितोपत्र बजार सञ्चालकले स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्ने छ। बजार सञ्चालकले पहिलो कारोबार मूल्य र त्यसपछि मूल्यमा हुने परिवर्तनको सीमा आफै तोक्नु पर्ने छ। अहिले दुई प्रतिशतको सीमा छ। जसलाई नेप्सेले थप घट गर्न सक्ने छ। त्यसैगरि कारोबार भएको दिनको अन्तिम मूल्य र भोलिपल्ट सुरु हुने मूल्यको अन्तर पनि बजार सञ्चालकले नै तोक्नु पर्ने छ। अहिले अन्तिम कारोबार मूल्यमा दुई प्रतिशत थप घट गर्न सकिने व्यवस्था छ। एक पटकमा कति शेयर कारोबार गर्न मिल्ने हो त्यसको व्यवस्था पनि बजार सञ्चालकले नै गर्नु पर्ने छ। यसैगरी सर्किटको व्यवस्था पनि बजार सञ्चालकले नै गर्नु पर्ने छ। अहिले १० प्रतिशतसम्मको सर्किट ब्रेक छ।

 कारोबारको राफसाफ सिडिएससीले गर्ने छ।