रास्वपाको समानुपातिक सूचीमा उद्यमी व्यवसायीको दबदबा, जलस्रोत उद्यमीदेखि कृषि, पर्यटन र बैंक उद्यमीसम्म सांसद बन्ने लाइनमा

Dec 30, 2025 01:55 PM mero lagani



फागुन २१ को लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन कार्यक्रम अन्तरगत सोमबार राजनीतिक पार्टीहरुले समानुपातिक तर्फका उम्मेदवारकाे बन्द सूची पेश गरेका छन् । 

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पेश गरेको समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा उद्योगी व्यवसायी क्षेत्रका व्यक्तिहरुलाई प्राथमिकता दिएको पाइएको छ । रास्वपाले बन्द सूचीमा राख्ने तयारी गरेका केही उद्यमीहरुको नाम भने विवादका कारण अन्तिम समयमा हटाइएको छ ।

काठमाडाैं महानगरपालिका मेयर बालेन्द्र साह र उर्जा मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकीकरण गरेसँगै रास्वपाले समानुपातिकतर्फका सबै ११० सिटको लागि उम्मेदवारहरुको सूची पेश गरेको छ । त्यसमध्ये एक चौथाईभन्दा धेरै व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरु रहेको पार्टी नेताहरु बताउँछन् ।

रास्वपाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहेका उद्यमी चन्द्र ढकालका छोरा सचिन ढकाललाई खस आर्यतर्फको दोस्रो नम्बरमा सिफारिस गरेको छ । पहिलो नम्बरमा भने पार्टीका सहमहामन्त्री विपीन आचार्यको नाम राखिएको छ । आचार्य आफै पनि ‘सहकारी उद्यमी’ हुन्, जो पोखराको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका छन् । खास आर्य कोटाबाटै तेस्रो नम्बरमा सिफारिस भएका सुदिप ढकाल पनि व्यवसायी भएको बताइएको छ ।

रास्वपाले खस आर्य समुहबाटै अरनिको पाँडेलाई पनि समानुपातिकको उम्मेदवार बनाएको छ । जलस्रोत उद्यमी पाँडे रवि रास्वपा सरकारमा भएको बेला राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।

खस आर्यको महिलातर्फ दोस्रो नम्बरमा सिफारिस गरिएकी विदुषी राणा जुत्ता उत्पादन गर्ने गोल्ड स्टार कम्पनीकी मालिक हुन् । उनका पति अमिरप्रताप राणा कुमारी बैंकका अध्यक्ष छन् ।

खस आर्य महिलातर्फ तेस्रो नम्बरमा सिफारिस गरिएकी लिमा आचार्य लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको संचालक पनि हुन् । गत मंसिर २३ गते भएको बैंकको साधारण सभाबाट उनी सर्वसाधरण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको संचालक बनेकी हुन् ।

महिला खस आर्य समुहबाट सिफारिस गरिएकी समीक्षा बाँस्कोटा कन्चनजंगा टी स्टेटकी संचालक हुन् । कांग्रेस नेता दीपक प्रकाश वाँस्कोटाले स्थापना गरेको उक्त चिया कम्पनी अहिले समीक्षासहितका उनका छोरीहरुले संचालन गरिरहेका छन् । विवेकशील साझा पार्टीबाट २०७४ र ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडाैं क्षेत्र नं १ बाट उउम्मेदवार भएकी उनको दुवै पटक जमानत जफ्त भएको थियो । रविन्द्र मिश्रले पार्टी छोडेपछि विवेकशिल साझा पार्टीको नेतृत्वमा पुगेकी वाँस्कोटा केही समय अघि पार्टीलाई रास्वपामा विलय गराएर अहिले समानुपातिक तर्फको उम्मेदवार बनेकी छन् ।

रास्वपाबाटै समानपातिकको उम्मेदवार बनाएकी लाक्पाफुटी शेर्पा पर्यटन उद्यमी हुन् भने सीता पाण्डे कृषि उद्यमी हुन् । ‘मुख्य तीन कारणले उद्यमी व्यवसायीलाई महत्व दिइएको हो’ रास्वपाका एक नेताले भने । उनकाअनुसार एक त चुनावको लागि आवश्यक चन्दा दिन सक्ने र आवश्यक पर्दा आफैले पार्टी निर्माणमा समेत सहयोग गर्न सक्ने, आर्थिक एजेण्डाहरुलाई संसदमा उठाउन सक्ने र नयाँ अनुहार पनि हुने भएकोले पार्टीले उद्यमी व्यवसायीहरुलाई बन्द सूचीमा प्राथमिकता दिएर समावेश गरेको हो ।

स्मरण रहोस रास्वपाले बन्द सूचीमा नाम समावेश गर्ने तयारी गरे पनि विवाद भएपछि राज्य लक्ष्मी गोल्छालगायतका केही उद्यमीहरुलाई भने अन्तिममा उम्मेदवार छनौट प्रकृयाबाटै हटाएको थियो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।