एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वर्षौँपछि घर फर्किएको अनुभुति भइरहेको बताए । उनले २०७८ सालको ऐतिहासित महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट अलग एक्लै अलग्गिएको भएपनि देशभरको संगठनसहति घर फर्किएको जिकिर गरे । उनले आफूमाथि लाग्दै आएको गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गरे ।
उनले भने ,‘मलाई आज घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कँदाखेरी जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ । वास्तवमा २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राष्ट्रिय प्रजातन्त्र पार्टी (घर) छोडेर गएको थिएँ खुसिले होइन । मन रोईरोई एक्लै अलग भएको थिएँ । त्यसपछि मान्छेहरुले गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भनेर आरोप पनि लगाएँ । हारेर भाग्यो पनि भने तर यी सबै आरोपहरुमा कुनै सत्यता छैन । एउटा खेलाडी पनि भएको नाताले हारलाई सहर्स स्वीकार गर्ने चरित्र ममा छ । विभिन्न कारणले घर छोडेर गएँ । गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निकारण होला पनि भन्ने ठानेको छु । यद्यपि त्यसमा सत्यता थिएन ।’
उनले गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप असत्य आरोपहरु निराकरण भइसकेको आफ्नो विश्वास रहेको पनि बताए । उनले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए । २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोडेका थिए । चार वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किएका हुन् । उनले राजनीतिक दलहरुको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाए ।