तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ झिक्दै, १० दिनमा तेस्रो पटक ऋणपत्र जारी

Jan 04, 2026 11:34 AM merolagani



नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता (बचत रकम) व्यवस्थापन गर्न आज पुनः २५ अर्ब रुपैयाँ झिक्ने भएको छ। बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम बजारबाट तान्न लागेको हो।

करिब १० वर्षको अन्तरालपछि गत सातादेखि ऋणपत्र जारी गर्न सुरु गरेको राष्ट्र बैंकले यसै साताभित्र तेस्रो पटक यो उपकरण प्रयोग गरेको हो। यसअघि गत सोमबार र बुधवार पनि बैंकले २५/२५ अर्ब रुपैयाँका दरले बजारबाट रकम झिकेको थियो।

यस्ता छन् ऋणपत्रका मुख्य विशेषताहरू:

  • नाम: नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’

  • बोलकबोल समय: आज (पुस २० गते) मध्याह्न २ बजे।

  • परिपक्व अवधि: एक वर्ष (साँवा भुक्तानी २०८३ पुस २० गते)।

  • ब्याजदर: बोलकबोलमार्फत निर्धारण हुने (ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा हुने)।

  • न्यूनतम सीमा: लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी (५ करोडको गुणाङ्कमा) आवेदन दिन सक्नेछन्।

को-को सहभागी हुन पाउँछन्?

यो ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। खरिद गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक वा राष्ट्र बैंकमा धितो राखी कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन्।

 

बजारमा लगानीयोग्य रकम थुप्रिएपछि ब्याजदर सन्तुलनमा राख्न र तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लो समय आक्रामक रूपमा बजारबाट पैसा झिक्दै आएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।